१८ सहकारीका ऋणीले ७ दिनभित्र ऋण नतिरे सम्पत्ति रोक्का गरी कालोसूचीमा राखिने 

१८ सहकारीका ऋणीले ७ दिनभित्र ऋण नतिरे सम्पत्ति रोक्का गरी कालोसूचीमा राखिने 


काठमाण्डु – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीले ७ दिनभित्र सहकारीबाट लिएको ऋण नतिरे सम्बन्धित व्यक्ति र उसको परिवारलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । समितिले बिहिबार सूचना जारी गर्दै ६ दिनभित्र ऋण तिर्न ‘अल्टिमेटम’ दिएको हो ।

समितिले निकालेको सूचनामा अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न ७ दिनको समय दिइएको र ७ दिनभित्र ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।

‘अन्तिम पटक ७ दिने सूचना प्रकाशित गर्ने र सो अवधिसम्म पनि ऋणीहरू तथा जमानीकर्ताहरूले आफ्नो दायित्व तिर्न बुझाउन नआएमा निज ऋणी र निजका एकाघरका परिवारको सम्पत्ति, बैंक खाता तत्काल रोक्का गर्ने, कालोसूचीमा राखिने छ,’ बिहीबार प्रकाशित सूचनामा छ, ‘रोक्का राखिएको सम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (क) (ख) (ग) सहकारी नियमावली, २०७५ बमोजिमको कारबाही अगाडि बढाइ ऋण असुल उपर गर्ने निर्णय भएको छ,’ सूचनामा लेखिएको छ ।

समस्याग्रस्त घोषित संस्थाका सञ्चालक, व्यवस्थापकहरू, ऋणी सदस्यहरू र कर्मचारीलाई आफ्नो दायित्व भुक्तानीका लागि पटक–पटक राष्ट्रियस्तरको पत्रपत्रिका र एसएमएस मार्फत ३५ दिने सूचना समेत प्रेषित गरे पनि अटेर गर।ेकाले यस्तो निर्णय गरिएको समितिले जानकारी दिएको छ ।

केहीबाहेक अधिकांश ऋणी सदस्यले सम्पर्क समेत नगरेको सूचनामा उल्लेख छ । समितिले आफूले तिर्न पर्ने दायित्व समेत तिरे बुझाएको नदेखिएकाले अब सम्पत्ति रोक्का राख्ने, कालोसूचीमा राख्ने र एकाघर परिवारको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने निर्णय भएको समितिले जनाएको छ ।

समितिले समस्याग्रस्त घोषित भएका स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ७ दिनको समय दिएको हो ।

तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका ऋणीलाई पनि ऋण तिर्न ७ दिनको समय दिइएको सूचनामा उल्लेख छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समितिले काम गर्न नसकेको गुनासो आइरहेको बेलामा समितिले यस्तो निर्णय लिएको हो ।