तीन दिन देशैभर वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

तीन दिन देशैभर वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


काठमाडौँ – आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो ।

शनिबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने जनाइएको छ । साथै, पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आइतबार दिउँसो र रातको दुबै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । श्रावण १४ गते पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनुको साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भेगमा बद्लीसहित वर्षा भइरहेको छ । काठमाडौँका कतिपय स्थानमा भारी वर्षा भएको छ । यद्यपी, दिनभरको वर्षाको विवरण मौसम पूर्वानुमान महाशाखाले साँझ राख्ने भएकाले अहिले देशका कुन क्षेत्रमा कति वर्षा भएको भनी रेकर्ड छैन ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँमा तीन दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङ र ओखलढुङगामा छ, सिमरामा १६, पोखरामा २५, दाङमा १४, नेपालगञ्जमा ३४, धनगढीमा ११ र डडेलधुरामा ३० मिलिमिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम तापक्रम २९ दशमलव पाँच र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।