साढे ३३ किलो सुन प्रकरण : ‘लेभल थ्री’ रेष्टुरेण्टका सञ्चालक अकबर शाह पक्राउ

साढे ३३ किलो सुन प्रकरण : ‘लेभल थ्री’ रेष्टुरेण्टका सञ्चालक अकबर शाह पक्राउ


काठमाडौं – साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा रेष्टुरेन्ट व्यवसायी अकवर शाह पक्राउ परेका छन् ।

शाहलाई काठमाडौंबाट नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरीएको सुन तस्करी तथा सनम हत्या अनुसन्धान गर्न गठित समितिले जनाएको छ । सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसंग सम्पर्कमा रहेको खुलेपछि शाहलाई नियन्त्रणमा लिईएको बताइएको छ ।

छानविन समितिका अनुसार छिरिङसंगको साझेदारीमा पटक–पटक सुन तस्करी गर्दै आएका शाहलाई बिहीबार नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको हो । न्युरोडस्थायी घर भएका अकवर नकवुल शाहका छोरा हुन् ।

अकबरले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको रेष्टुरेण्ट सञ्चालन गरेको समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको उक्त रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चान गरिएको शाहले समिति समक्ष बयान दिएका छन् ।