काठमाडौं– तस्करीको ३३ किलो सुन र एक भरियाको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले ठमेलको मनाङ होटलका सञ्चालक भुजुङ गुरुङसहित १० जनालाई पक्राउ गरेको छ। डिआईजी पुष्कल रेग्मी नेतृत्वको छानबिन समितिले उनीहरुलाई पक्राउ गरेको हो।
तस्करीको ३३ किलो सुन गायब भएसँगै हत्या गरिएका उर्लाबारीका सनम शाक्य ‘हत्या प्रकरण’मा प्रहरीको नै भूमिका शंकास्दप भएपछि प्रश्न उठाउँदै गृह मन्त्रालयले गठन गरेको छानविन समितीले शनिबार एसएसपी दिवेश लोहनी सहित ३ जना सुरक्षा अधिकारी प्रहरी प्रधान कार्यालय तानेको थियो ।
फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले चिनको केरुङ नाका हुँदै ल्याएको सुन भरियाले लुकाएको भन्दै यातना दिने क्रममा मोरङको उर्लाबारी–७ स्थायी घर भएका शाक्यको गत फागुन १८ गते हत्या भएको थियो ।
फागुन १९ गते विराटनगरको पोखरीयाबाट महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल समेतको टोलीले शाक्यको शव बरामद गरेको थियो । मुख्य नाइकेलाई जोगाएर अनुसन्धान गरेको आरोपमा महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी तथा सई बालकृष्ण सञ्जेललाई कारबाही स्वरुप त्यहाँबाट सरुवा गरिएको छ।
अपराध महाशाखा र मोरङ प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा काभ्रेका टेकराज मल्ल, उर्लाबारीकै नरेन्द्र कार्की, मोहन काफ्ले र झापाका लाक्पा शेर्पालाई पक्राउ गरेको थिए । तर, उनीहरु निर्दोष रहेको र गोरेको डिजाइनमा फसाइएको रहस्य बाहिर आएपछि प्रहरीको मिलेमतो रहेको खुलेको थियो ।
प्रतिक्रिया