३३ किलो सुनकाण्ड : एसएसपी लोहनीसहित तिनै जना प्रहरी मुख्यालय तानिए

३३ किलो सुनकाण्ड : एसएसपी लोहनीसहित तिनै जना प्रहरी मुख्यालय तानिए


काठमाडौं – ३३ किलो सुन तस्करीमा शंकास्पद भुमिका देखिएका एसएसपी दिवेश लोहनी सहित ३ जना सुरक्षा अधिकारी प्रहरी प्रधान कार्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयले तस्करीको ३३ किलो सुन गायब भएसँगै हत्या गरिएका उर्लाबारीका सनम शाक्य ‘हत्या प्रकरण’मा शंकास्दप भूमिका देखिएको भन्दै तिन अधिकारीलाई प्रधान कार्यालय तानेको हो ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले पत्राचार गरेर एसएसपी लोहनी, डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई प्रहरी हेडक्वार्टरको मानवश्रोत विकास विभागमा हाजिर हुन निर्देशन दिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी अधिकृतहरुलाई हेडक्वार्टर तानिएको प्रहरी प्रवक्ता (डिआईजी) मनोज नेउपानेले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।

फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले चिनको केरुङ नाका हुँदै ल्याएको सुन भरियाले लुकाएको भन्दै यातना दिने क्रममा मोरङको उर्लाबारी–७ स्थायी घर भएका शाक्यको गत फागुन १८ गते हत्या भएको थियो ।

फागुन १९ गते विराटनगरको पोखरीयाबाट महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल समेतको टोलीले शाक्यको शव बरामद गरेको थियो । ‘सनम हत्या प्रकरण’मा प्रहरीको भूमिका शंकास्पद देखिएको भन्दै गठित छानबिन समितिको सिफारिसमा एसएसपी लोहनीसहित तीन अधिकृतलाई महाशाखाको जिम्मेवारीबाट हटाईएको छानबिन समितिमा रहेका एक उच्च अधिकृतले जानकारी दिएका छन् ।

अपराध महाशाखा र मोरङ प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा काभ्रेका टेकराज मल्ल, उर्लाबारीकै नरेन्द्र कार्की, मोहन काफ्ले र झापाका लाक्पा शेर्पालाई पक्राउ गरेको थिए । तर, उनीहरु निर्दोष रहेको र गोरेको डिजाइनमा फसाइएको रहस्य बाहिर आएपछि प्रहरीको मिलेमतो रहेको खुलेको थियो ।

सुन बोकेका भरियाको हत्या हुँदा समेत ३३ केजी सुन कहाँ छ भन्ने बारेमा अहिलेसम्म प्रहरीले सुईको पाउन नसक्नुलाई ठूलो कमजोरी वा प्रहरीकै संलग्नता रहेको स्पष्ट देखिन्छ । प्रहरी नियन्त्रणमा रहेका चार जनाले दिएको बयान र अनुसन्धानका क्रममा उक्त सुनका मालिक गोरे रहेको खुलिसकेको छ । गोरे प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् ।