लेदोसहितकाे पहिरोले आदिबराह ताल पुर्‍याे

लेदोसहितकाे पहिरोले आदिबराह ताल पुर्‍याे


पर्वत– जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पहिरोका कारण पुरिएको छ । जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो ।

गत बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् । उक्त ताल गत वर्षको भदौ अन्तिम साता पहाडबाट झरेको पहिरोले बगरमा परिणत भएको थियो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत मर्मत गरेको स्थानीय नवीन जिसीले बताए । गत वर्ष मर्मत गरिएको ताल गत बुधबार आएको पहिरोले पुनःपुरिएर पहिलेकै अवस्थामा पुगेको उनले जानकारी दिए ।

अविरल वर्षासँगै बुधबार आएको पहिरोले एउटा घर जोखिममा परेको छ भने सयौँ रोपनी धानखेत समेत पुरिएको जलजला–४ का वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए । उनले गत वर्षदेखि यस क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको बताए।

समुद्री सतहबाट एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराह ताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको वडाध्यक्ष क्षेत्रीले बताए । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेका छन् । ताल मात्र नभई यहाँ रहेको बराह मन्दिर पनि पहिरोको जोखिमा परेका छन् ।

कुवापानी पहाडबाट लगातार पहिरो बग्दै आएर बाढी पसेपछि तालमा कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय जिसीले बताए । प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराह ताल मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गर्दछ । मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ ।