ब्याग कारखानामा भीषण आगलागी, कम्तीमा ४३ जनाको मृत्यु

ब्याग कारखानामा भीषण आगलागी, कम्तीमा ४३ जनाको मृत्यु


एजेन्सी – भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा भएको आगलागीमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएको थियो। समयमै आगो नियन्त्रणमा नआउँदा धेरैतिर फैलिएको बताइएको छ ।

’घटनास्थलबाट हामीले कम्तीमा ५० जनालाई उद्धार गरेका छौँ, ’नयाँ दिल्लीका प्रहरी उपप्रमुख सुनिल चौधरीले भने । ‘उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेका बेला चार पाँच तले भवनमा आगलागी भएको थियो, ’उनले भने, ’खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ ।’

नयाँ दिल्लीका एकजना बरिष्ठ प्रहरी अधिकारीले आगलागी भएको भवनमा कम्तीमा ५८ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन् । अग्नि नियन्त्रकले आगलागी नियन्त्रण गर्न निकै कठिनाई भएको बताएका छन् । आगलागी भएको भवनमा स्कुले विद्यार्थीका झोला र प्याकेजिङ गर्ने सामग्री राखिएका थिए ।

उद्धारकर्ताले आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएका छन् । उद्धार गरिएका सबैलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । भारतका धेरै सहरमा रहेका कारखाना तथा साना उत्पादन केन्द्रहरु पुराना तथा साँघुरा गल्लीमा सञ्चालन गर्ने गरिएका छन् ।