काठमाण्डु– नेपाल विद्युत प्राधिकरणको बुधबार आगलागी भएको ढल्केबर सबस्टेसनका अध्ययन तथा निरीक्षण गर्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोली बिहीबार त्यहाँ पुगेको छ ।
अचानक आएको प्राविधिक समस्या, त्यस क्षेत्रको विद्यमान लोड (माग र आपूर्ति) को अवस्था तथा यस्ता समस्याको दिगो समाधान गर्ने उद्देश्यसहित टोली त्यहाँ पुगेको हो ।
वर्षौंदेखि प्राधिकरण अन्तर्गतका वितरण पूर्वाधार संरचना मर्मत–सम्भार (काम चलाउ) अवस्थामा सञ्चालन गरिँदै आएको छ । दिगो र भरपर्दो विद्युत आपूर्ति गर्न पूर्वाधार संरचनाको मर्मत–सम्भार, नयाँ जडान लगायत काम गर्ने र भविष्यमा यस्ता खालका दुर्घटना घटन नदिने गरी अगाडि बढन योजनाका साथ यसको अध्ययन गरिने भएको छ ।
ढल्केबर देशकै ठूलो सबस्टेसन हो । यहाँ ४०० केभीदेखि ११ केभी (४००/२२०/१३२/३३/११ केभी) सम्मका अलग–अलग सबस्टेसन छन । बुधबार आगलागी भएको वा समस्या आएको सबस्टेसन १३२/३३/११ केभी खण्डमा मात्र हो । सबस्टेसन पूरै खण्डमा कुनै समस्या नआएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।
यो सबैभन्दा पुरानो सबस्टेसन हो, जसको २०४२ सालतिर निर्माण गरिएको थियो । त्यसपछि, विस्तारै प्राधिकरणल २२० केभी र ४०० केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको थियो । सबस्टेसनमा जडित करेन्ट ट्रान्फर्मर (सिटी) पडकेर आगलागी हुँदा बुधबार बिहान करिब ७ः३० बजेदेखि त्यस क्षेत्रको विद्युत आपूर्तिमा समस्या आएको थियो ।
१३२/३३/११ केभी सबस्टेसनमार्फत धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायत क्षेत्रमा विद्युत हुँदै आएको छ । उक्त खण्डको सबस्टेसनमा जडित ६३ एमभिए क्षमताका दुई पावर ट्रान्सफर्मरमा २०८१ भदौ १८ गते पनि समस्या आएको थियो ।
दुई वटा ट्रान्सफर्मरबाट करिब ९० एमभिए विद्युत भार (लोड) आपूर्ति भइरहेकामा करिब ३ सातासम्म ३० एमभिएको लोड काटिएको थियो । त्यतिबेला प्रभावित क्षेत्रको आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत आयात गरिएको थियो । प्राधिकरणले २०७८ साल चैतमा ढल्केबरको १३२/३३ केभी सबस्टेसनमा ६३ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गरेको थियो ।
प्रतिक्रिया