भेरी अस्पतालमा आगलागीबाट ४ करोडको क्षति, २ दिन बन्द

भेरी अस्पतालमा आगलागीबाट ४ करोडको क्षति, २ दिन बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट ४ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी हुँदा यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका अस्पतालका मेडिकल सुपरिटेण्ड डा. निराजन सुवेदीले जानकारी दिए ।

उनका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

समितिले ४ दिनभित्र प्रतिवेदन बुझाउने छ । आगलागीका कारण आजदेखि दुई दिनसम्म भेरी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा बन्द गरेको छ । आगालागी भएको मेडिकल स्टोर र ओपोडी सेवा एउटै भवनमा रहेकाले पनि काम गर्न असहज हुने देखिएपछि ओपिडी सेवा बन्द गरिएको हो ।

अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधिसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिनलगायत सबै जलेर नष्ट भएकाले पनि ओपिडी सेवा प्रभावित भएको सुवेदीले बताए । उनका अनुसार आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्रहरू पनि जलेर नष्ट भएका छन्

शनिबार आगलागी भएकाले मेडिकल स्टोरभित्र कर्मचारी र बाहिर बिरामी तथा अन्य मानिसहरू नरहेकाले मानवीय क्षति हुन नसके पनि भौतिक क्षति भने भएको अस्पतालले जनाएको छ ।