खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्यालय र ९ वटा घरगोठ जलेर नष्ट भएको छ ।
डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, बाघखोरका रणबहादुर राई, सिद्धथानका पविन्द्रकुमार राई र हिराधन राई, लाङ्माका कृष्णबहादुर राई, चयनकुमार राई र टंकबहादुर राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।
गत आइतबार रातीदेखि डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनमा डढेलो सुरु भएको थियो । “गाउँ पसेको डढेलो अहिले निभाइएको छ । छुम्पाङ क्षेत्रमा लागेको आगो गएराति निभाउन सफल भयौँ”, उनले भने, “नेपाली सेना, सशस्त्र, जनपथ, नगरप्रहरी, स्थानीयलगायतले डढेलो निभाएका हुन् । भर्जेडाँडा क्षेत्रको सामुदायिक वनमा अहिले पनि डढेलो लागिरहेको छ । त्यसलाई निभाउने प्रयास गरिरहेका छौँ ।”
जिल्ला विपद् व्यवस्थापन कोषबाट तत्काल प्रति घरपरिवार नगद १५ हजार, त्रिपाल र कम्बल एक÷एक थान उपलब्ध गराएको छ । उनीहरुलाई थप राहत र पुनःस्थापनाका लागि पहल भइरहेको छ ।
आगलागी तथा डढेलोले कृष्णबहादुर राईको गाईको माउबाछा, सम्बरबहादुर राईको दुई माउ बाख्रा र च्यानटारका छोटे राईको १० माउ बाख्रा जलेर मरेको जनाइएको छ । स्थानीय लाङ्मा पाखामा चरनका लागि छाडिएका छोटे राईको १० माउमध्ये ७ वटा जलेर मरेको अवस्थामा भेटिएको र तीनवटा नभेटिएको वडाध्यक्ष राईले जानकारी दिए ।
डिकुवामा भएको आगलागी पीडित घर परिवारलाई नगरपालिकाको तर्फबाट प्रतिघर १० हजारका दरले नगद तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको नगर प्रमुख विमला राईले जानकारी दिए ।
प्रतिक्रिया