काठमाण्डु–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् ।
उनले ‘कोमल कार्प’ नामको उन्नत जातको आलुखेती गरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् ।
प्रति दाना ५ रुपैयाँका दरले ८ किलो आलु रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए ।
पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु बीउका रूपमा राखेर पुनः रोप्ने योजना उनको रहेको छ । उत्पादित आलुका दाना आधा किलोदेखि २ किलोसम्मका रहेका छन् । यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानमा स्वादिलो रहेको छ । मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरीले बताए ।
तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेती गर्दै आएका छन् । सो अवधिमा ११ प्रजातीका आलु लगाएर हेरेको उल्लेख गर्दै उनले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताए ।
प्रतिक्रिया