कोरोना संक्रमितको सेवा गर्ने मौका पाएँ, गर्व महसुस हुन्छः अभिरुची बुढाथोकी (अन्तर्वार्ता)

कोरोना संक्रमितको सेवा गर्ने मौका पाएँ, गर्व महसुस हुन्छः अभिरुची बुढाथोकी (अन्तर्वार्ता)

'परिवारको हौसलाले कोरोना संक्रमितको सेवा गर्न हिम्मत जुटायो'


काठमाण्डु – विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिँदो रुपमा छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढे पनि स्वास्थ्यकर्मीहरुले उच्च मनोबलका साथ काम गरिरहेका छन् ।

देशको राजधानी काठमाण्डु उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोना भाइरसको संक्रमणले स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुनेक्रम बढ्दो क्रममा छ । त्यस्तै पछिल्लो समय उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक आक्रामण हुने गरेको घटना बाहिरिँदै आएका छन् ।

एकातिर कोरोना भाइरसको महामारी र अर्कोतिर सांघातिक आक्रमण हुने त्रासका बाबजुद पनि स्वास्थ्यकर्मीहरुले उच्च मनोबलका साथ अग्र पंक्तीमा रहेर बिरामीलाई सेवा दिइरहेका छन् । उपचारको क्रममा संक्रमित भइहाले पनि समाजले घृणा गर्ने घटनाहरु बाहिरिरहेका छन् ।

जोखिम मोलेर कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको अनुभव कस्तो रह्यो ? उनीहरु कस्तो सुरक्षाबीच कोरोना सक्रमितको उपचार गरिरहेका छन् ? घर परिवार र समाजले कस्तो दृष्टिले हेर्ने गरेको छ ? सोही विषयमा पाटन अस्पतालको प्रसूती वार्डको कोभिड वार्डमा सिनियर नर्सको रुपमा कार्यरत नर्स अभिरुची बुढाथोकीसँग कुराकानी गरेका छौं ।

कोरोना संक्रमितको सेवामा खटिँदाको अनुभव, परिवार र समाजको हेर्ने दृष्टिकोण लगायतका विषयमा काठमाण्डुपाटीका लागि यशोदा भुजेलले गरेको कुराकानीको सम्पादित अंशः

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना नेपालमा पनि फैलिरहेको छ । सुरुमा कोभिड वार्डमा काम गर्दा तपाईको अनुभव कस्तो रह्यो ?

अवश्य पनि मैले सुरुमा कोरोना वार्डमा काम गर्दा तितो मिठो दुबै अनुभव महशुस गरेको छु । एकदमै खुशी छु भन्ने पनि हुँदै न अनि एकदमै दुखी छु भन्ने पनि हुँदैन । किनभने सुरु सुरुमा कोरोना भाइरसको संक्रमणका बारेमा कसैलाई पनि धेरै जानकारी थिएन । नेपालमा त झन् कस्तो अवस्था हुने होला भन्ने कुराको कसैले अनुमान समेत गर्न नसक्ने अवस्था थियो । जब कोभिड–१९ आउन थाल्यो, म आफ्नो वार्डमा सिनियर भएकाले मेरो नाम पहिलो सूचीमा आयो ।

त्यतिबेला एकदमै डर लागेका थियो । त्यसपछि घरमा फोन गरेर ममिलाई आफू कोभिड वार्डका लागि छनौट भएको कुरा सुनाएँ । ममिको कुराले ममा झन हौसला प्राप्त भयो । ‘विश्वमा यत्रो ठूलो महामारी आइरहेको छ, भोली नेपालमा पनि आउँन सक्छ यस्तो बेला तिमिले निडर भएर पीपीई लगाएर बिरामीको सेवा गर्न सक्यौ भने पो तिमी एउटा सच्चा नर्स भयौ त । ढुक्क भएर काम गर’ ममिले यस्तो भन्नुभएपछि मलाई थप हौसला आयो । त्यसपछि मैले आफ्नो काम सुरु गरेँ । यस्तो बेलामा हौसला दिने कोही न कोही त चाहिने रहेछ ।

ममिको त्यो हौसलाले मलाई कोभिड संक्रमित बिरामीको सेवा गर्न हिम्मत जुटायो । पाटन अस्पताल लगायत देशभरका अस्पतालमा मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । आफ्नै आँखा अगाडी मानिसहरुको मृत्यु भएको देख्दा कहिलेकाहीँ डर पनि लाग्छ । यस्तो कन्डिसनमा कहिलेकाँही आईसीयूमा पनि सहयोग गर्न जानुपर्छ । त्रास त छ, त्यसको बाबजुद पनि हामीले यस्तो अफ्ठ्यारो परिस्थितीमा पनि आफ्नो जीउ र ज्यानले सकेसम्म सेवा गरिरहेका छौं । यो देख्दा खेरी आफुलाई गर्भ पनि लाग्छ । यस्तो अफ्ठ्यारो परिस्थितीमा पनि मैले केही गर्ने मौका पाएँ, कोभिड संक्रमित बिरामीको सेवा गर्ने मौका पाएँ भन्ने गर्व महसुस हुन्छ ।

सुरुको अवस्थामा पिपिई (कोरोना संक्रमितको उपचारमा खटिँदा लगाउने) को समस्या कस्तो थियो र अहिले कस्तो छ ?

अहिले हामीलाई पीपीईको समस्या छैन । किनभने पाटन अस्पतालले पीपीई आफैँ उत्पादन गर्छ । हामीले एउटै सिफ्टमा पनि तीन वटा सम्म पीपीई फेर्न पाउँछौं । पीपीई लगाउँदाको अनुवभ कस्तो हुन्छ त भन्दा पीपीई नपाउँदा टेन्सन हुँन्थ्यो पहिला । पीपीई दिए त सुरक्षीत हुइन्थ्यो होला नि भन्ने लाग्थ्यो । जब पीपीई पाईसकेपछि लगाउने बेलामा छुट्टै दुख हुन्छ । बाहिर देखिएजस्तो पक्कैपनि सजिलो हुँदैन । पीर्पी लगाउँदा विभिन्न नियमहरुलाई फलो गर्नुपछि । एकदमै राम्ररी कतैबाट पनि हावा नछिर्नेगरी कसेर लगाउनुपर्छ । पीपीई लगाईसकेपछि ग्लोबस, मास्क तथा फेस शिल्ड लगाउनुपर्छ । अझ पीपीई लगाएर कोभिड वार्डमा छिरेपछि हामीले खाने, पिउने तथा ट्वाइलेट समेत जान मिल्दैन । अझ महिला नर्सहरुलाई त धेरै गाह्रो हुन्छ ।

पिरियडको समयमा ६ भण्टासम्म प्याड समेत चेन्ज गर्न पाइँदैन । म आफै मेन्स्ट्रस हेल्थको बारेमा सिकाउँदै हिड्ने मान्छे हो । तर अहिले हामी आफैले ६ घण्टासम्म प्याड चेन्ज नगरेर बस्नुपर्छ । एउटा प्याडमा बस्नुपर्दाको पिडा म आफैले फेस गरेको छु, यस्तो बेलाको पीडा म यहाँ बर्णन पनि गर्न सक्दिनँ । एक पटक मेरो पीरियडकै समयमा नाइट ड्यूटी परेको थियो । म साँझको ७ बजे पीपीईसँगै त्रिपल प्याड लगाएर वार्डमा छिरेको थिएँ । त्यो रात एक जना कोभिड संक्रमित विरामीको डेलिभरी गराउनुपर्ने थियो । राती साढे दुई बजेमात्र बच्चा जन्मियो ।

साढे सात घण्टादेखि लगाएको प्याडले धेरै गाह्रो भइरहेको थियो । यस्तो समस्या फेस गर्नुपर्दा आफ्नो जिवन आफ्नै लागी रहेनछ भन्ने पनि महसुस भएको थियो । यो दुख मलाई मात्र हैन विशेष गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्सहरु जो पीपीई भित्र रहेर काम गर्नुहुन्छ, उहाँहरु सबैले भोग्नुपरेको छ । पीपीईमा काम गर्दा गाह्रो त हुन्छ तर लगाउँदा सुरक्षीत पनि हुन्छ । अझ पीपीई लगाउँदा भन्दा खोल्दा धेरै गाह्रो हुन्छ । लगाउँदा एक्लैले लगाउन सकिएपनि खोल्ने बेलामा एक जना सहयोगी अनिवार्य हुनैपर्छ । पीपीई खोल्दाखेरी एकदमै सतर्कता अपनाउनु पर्छ । किनभने पीपीई खोल्ने क्रममा कोभिड सर्ने सम्भावना एकदमै बढी हुन्छ । पीपीई खोल्नुअघि स्यानिटाइजरले पुरै शरीर स्प्रे गर्नुपर्छ । त्यसपछि शरीरमा लगाइएका पीपीई लगायत मास्क, ग्लोब्स, फेस शिल्ड, चस्मा पालैपालो निकाल्नुपर्छ र सुरक्षीत स्थानमा राख्नुपर्छ ।

कोरोना संक्रमितको उपचारमा खटिँदा परिवार र समाजको हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

जुनसुकै कुरामा पनि दुईवटा पार्ट हुन्छ, नेगेटिभ–पोजेटिभ । सुरुको दिनमा घरमा र समाजमा धेरै स्ट्रिक गर्नुहुन्थ्यो । त्यो बेला चाहीँ मलाई नै कोभिड लागेको हो कि भन्ने महसुस हुन्थ्यो तर अहिले त्यही समाजमा बस्ने कतिपय मानिसहरुले रेस्पेक्ट पनि गनुृहुन्छ । सपोर्ट गर्नुहुन्छ । तपाईले राम्रो काम गरिरहनुभएको छ, यो समयमा तपाईले गरेको काम एकदमै राम्रो हो भन्नुहन्छ । यो कोरोनाको समयमा जति पनि समाजका मान्छेहरु भेटेको छु । मैले बिरमीको सेवा गरेको देखेर खुशी हुने, प्रोत्साहन गर्ने नै भेटेको छु, केहीलाई छोडेर ।

कोभिड–१९ संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न सरकारले के कस्ता कार्यहरु गर्नुपर्ला ?

हाम्रो जस्तो विकसोन्मुख देशमा सरकारले आफ्नो तर्फबाट सकेजति त गरिरहेको छ । तर हामीले यो गर त्यो गर । हामीलाई यो हुनुपर्छ, त्यो हुनुपर्छ भनेपनि गर्नसक्ने अवस्था छैन । पहिला त कोरोना कै व्यवस्थापनका लागि सरकारले कति खर्च गर्नुपर्ने हुन्छ । तर यस्तो अवस्थामा सकेसम्म हामीलाई निराशा पार्ने काम चाहीँ नगरिदिएहुन्थ्यो । जे हामीले गरिरहेका छौं, त्यो कामलाई सम्मान चाहीँ गर्नुपर्छ ।

जोखिम मोलेर संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूले प्रोत्साहन भत्ता नपाएको गुनासो पनि आएको छ । तपाईहरुको अस्पतालमा कस्तो छ अवस्था ?

प्रोत्साहन भत्ता दिने कुरा आएको हो तर अहिलेसम्म हामीले पाएको छैन । हाम्रो अस्पतालमा कसैले पनि पाएका छैनन् । अस्पतालमा आएको भए त हामीले पाउनुपर्ने हो तर अस्पतालमै नआएपछि हामीले कहाँबाट पाउने ? सरकारले प्रोत्साहन भत्ता दिन्छु भनेर बोलेका कुरा कार्यान्वयन गर्न सकेन । कि त बोल्दै नबोल्नु, बोलिसकेपछि कार्यान्वयन चाहीँ गर्नुपर्छ ।

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेको छ नि ?

स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टर, नर्स भनेको विरामीको उपचार गर्ने मान्छे हो । ज्यान बचाउने ठे्का त लिएको हुँदैन न नी । कतिपय केसहरु यस्तो हुन्छन् की हामीले चाहेर पनि रोक्न सक्दैनौं । इभन हाम्रै प्रसुति वार्डको हेर्ने हो भने पनि हजार जनामा एक जनाको ज्यान गएकै हुन्छ । बढी रक्तस्राव भएर मृत्यु हुने चान्सेज एकदमै धेरै हुन्छ । यो रिसर्चले पनि देखाएको कुरा हो । विकसित देश अमेरिकामा पनि यो छ । हजार जनामा एक जनाको ज्यान जाँदा बाँकी ९ सय ९९ जनाको उपचार गरेको नदेख्नु त भएन नी । त्यो कारणले गर्दाखेरी हामीले सकेको प्रयास गर्ने हो तर मृत्युलाई रोक्ने ठेक्का पक्कै पनि कसैले लिएको हुँदैन । जो पनि अस्पतालमा उपचारका लागि आउनुँहुन्छ, उहाँहरुले यो चाहीँ बुझ्नुपर्छ ।

कोरोना संक्रमितलाई राख्ने बेडको अभाव छ, उपचार नपाएर दिनहुँ मृत्यु हुनेको संख्या बढीरहेको छ, यसमा सरकारले कस्तो तयारी गर्नुपर्छ ?

हाम्रो देश नेपालमा मात्र होइन, शक्तिशाली देशहरुमा पनि जस्तै अमेरिका, यूरोप जस्तो ठाउँमा पनि बेडको अभाव भइरहेको छ । जुन रेसियोमा संक्रमितहरु बढीरहेका यस्तो परिस्थितीमा सरकारले अल्ट्रानेटिभ तयारी त गर्नैपर्छ । एउटा राम्रो क्वारेन्टाइन जस्तै ठाउँ निर्माण गर्नुपर्छ । यदि सकेन भने घरमै भएपनि आइसोलेसनमा बस्न मिल्ने गरी सुविधाहरु उपलब्ध गराएर हुन्छ कि कसरी हुन्छ थारै भएपनि पूर्वतयारी चाँही गर्नुपर्छ । हाम्रो सरकारले चाइनाको जस्तो अस्पताल निर्माण त गर्न सक्दैन तर पनि विकल्पका रुपमा केही न केही त सोच्नुपर्छ, गर्नुपर्छ ।

सरकारले प्राइभेट अस्पताललाई पनि बेड तयारी अवस्थामा राख्नु भनेर निर्देशन दिएको छ, तर, कार्यान्वयन भएको छैन् । यस्तो तयारीले नेपालमा कोरोना नियन्त्रण हुन्छ ?

सरकारले अहिले के तयारी गरेको छ, तपाईंले देख्नुभएको छ ? भोली बिरामीको सेवा गर्दागर्दै मलाई नै कोरोना संक्रमण भयो भने मैले नै अस्पतालमा बेड पाउँदिन । सबै अस्पतालका बेडहरु प्याक भईसकेको अवस्था छ । सरकारले खोई कहाँ गरेको छ तयारी ? म चाँही प्रश्न गर्न चाहान्छु ।

अहिलेसम्म कति जना कोरोना संक्रमित गर्भवतिको डेलिभरी गराउनुभयो ? प्रसुतीको बेला आमाबाट बच्चामा कोरोना सर्न नदिन के कस्ता सावधानीहरु अपनाउनुभएको छ, अपनाइनुपर्छ ?

यति नै गर्यौ भन्नका लागि त डाटा नै हेर्नुपर्छ । तर ५, ७ जना संक्रमित गर्भवतिको डेलिभरी गराइसक्यौं । २, ३ वटा त अप्रेसनद्धारा नै प्रसुती गराएका छौं । नर्मल पनि भएको छ । कोरोना संक्रमित आमाबाट बच्चामा सर्ने चान्सेज यति नै हुन्छ भन्ने यकिन छैन । किनभने हाम्रो नेपालमा अहिलेसम्म आमाबाट बच्चामा सरेको तथ्यांक छैन । तर पनि रोग हो, कहाँ कतिखेर के हुन्छ भन्न सकिँदैन त्यसैले हामीले कोरोना संक्रमित आमाबाट बच्चा जन्मेपछि सुरुमै नाली काटेर बच्चालाई आमाबाट छुटाउँछौं । सँगै बस्न दिँदैनौं । बच्चालाई दुध पनि हामीले चुसाउन दिँदैनौं । जब आमालाई निको हुन्छ, त्यसपछि मात्र हामीले आमालाई बच्चा हस्तान्तरण गछौं । जतिसक्दो हामीले आमाबाट बच्चामा नसरोस् भनेर सावधानी अपनाएका छौं । डेलिभरीको समयमा पनि आमालाई मास्क लगाएर राख्छौं । प्रसव पिडा भइरहेको बेलामा पनि मास्क लगाउनु यो सबैभन्दा गाह्रो अवस्था हो । तर आमाबाट बच्चामा नसरोस भन्नका लागि हामीले उच्च सतर्कता अपनाएका छौं ।

तपाईले कोरोना भाइरसको संक्रमणबाट जोगिन कस्तो सावधानी अपनाइरहनु भएको छ ?

मैले अहिलेसम्म एक पटक मात्र पीसीआर टेष्ट गराएको छु । परीक्षणको रिपोर्ट नआउँदा सम्म निकै डर लागेको थियो । नेगेटिभ आएपछि खुशी भएँ । पाटन अस्पतालमा धेरै नर्सहरु कार्यरत छौं । त्यसैले हरेक नर्सको पिसिआर परीक्षण सम्भव नभएकाले अस्पतालले नै एउटा समुहमा काम गर्नेमध्ये एक पटकमा एक जनाको दरले पिसिआर परीक्षण गर्छ । उदाहरणको लागि मेरो वार्डको नाइट सिफ्टमा हामी तीन जना काम गर्छौं । हामी मध्ये एक जनाको परीक्षण गर्दा र उनको नतिजा जे आउँछ हाम्रो पनि त्यही नै हुनेछ भन्ने प्रकृया अपनाइएको छ । अब भने मेरो दोस्रो परीक्षण गर्ने बेला भएको छ । खासगरि म बाहिर निस्किँदिन । कहिलेकाहीँ सब्जी किन्न बजार जाँदा, अस्पताल जाँदा लगाएका कपडाहरु धुने, नुहाउने, साबुनपानीले हात धुने, मास्क लगाउने, दूरी कायम गर्र्नेे, बच्चाहरुसँग सम्पर्कमा नआउने गरिरहेको छु ।

अहिलेसम्मको तथ्यांक हेर्दा बढी उमेरका व्यक्तिलाई कोरोनाले असर गरेको पाइन्छ, युवा उमेरका व्यक्तिलाई कतिको असर गर्छ ?

रोगले युवा, बुढो, बच्चा भन्दैन । रोग लागेपछि कतिको असर पर्छ भन्ने कुरामा फरक पर्छ । जस्तो कि बृद्धबृद्धाहरुमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ, बुढाबुढीहरुलाई सुगर, प्रेसर, मुटुका रोगलगायत अन्य रोगहरु हुने भएकाले शरीर अलरेडी कमजोर भइसकेको हुन्छ । उहाँहरुको रोगहरुसँग लड्न सक्ने क्षमता हुँदैन र बढी उमेरकालाई असर गरेको देखिन्छ । युवाहरुमा रोगसँग लड्न सक्ने क्षमता बढी हुन्छ । त्यसैले युवा उमेरकालाई असर गरेको देखिँदैन ।

कोभिड नियन्त्रणमा अस्पताल र स्वास्थ्यकर्मीको भूमिका कस्तो हुनुपर्छ ?

पाटन अस्पातालको स्टाफ भएकोमा खुशी लाग्छ मलाई । पाटन अस्पतालले जुन रोल खेलिरहेको छ, यो चाहीँ समाजका लागि एउटा उदाहरण हो । पहिला अरु अस्पालले कोरोना संक्रमितलाई लिन नमानिरहेको बेला पाटन अस्पतालले आफ्नै अस्पताललाई पुरा कोरोना अस्पतालको रुपमा परिणत गरेको हो । अस्पतालमा बिरामीको चाप एकदमै बढी हुँदाहुँदै पनि देशलाई सेवा गर्छौं, कोरोना संक्रमित बिरामीको सेवा गर्छौं भनेर अस्पातल प्रशासनले अस्पताललाई कोरोना अस्पतालको रुपमा सेटअप गरेको हो । अहिले अन्य अस्पतालले लिन नमानेका बिरामीहरुलाई पाटन अस्पतालले लिएर उपचार गर्दै आइरहेको छ । हामीले आफ्नो ज्यानलाई जोखिममा राखेर काम गरिरहेका छौं । स्वास्थ्यकर्मीहरुले रोग लागेपछि उपचार गर्ने त छँदैछ तर पनि रोग लाग्न नदिनका लागि सोसल मिडियामार्फत स्वास्थ्य शिक्षाको बारेमा जानकारी दिने, सकेसम्म रुल्सहरुलाई फलो गर्न लगाउनुपर्छ ।

पाटन अस्पतालमा कार्यरत स्वास्थ्थकर्मीमा कोरोनाको जोखिम कतिको छ ?

एकदमै जोखिम बढी छ । जति नै पीपीई लगाएपनि जति नै सावधानी अपनाइएपनि बिरामीको प्रत्यक्ष सम्पर्कमा एक मिटर डिस्टान्सभित्र रहेर काम गर्नुपर्ने भएकाले स्वास्थ्थकर्मी कोरोनाको उच्च जोखिममा हुनुहुन्छ । उदाहरणका लागिः बिरामीको घाँटीबाट पाइप छिराउँदा सर्न सक्छ ।

कोरोना नियन्त्रणमा केन्द्र सरकारको तयारी पूर्ण छ ?

सरकारले अहिलेसम्म कुनै तयारी गरेको छैन । किनभने महामारी नै फैलियो भने कहाँ राख्ने त भन्ने पनि छैन हाम्रो नेपालमा । कम्तीमा पनि यति जना यो ठाउँमा राख्ने, यसरी राख्ने भन्ने केही तयारी त हुनपर्यो नि ? सरकारले कहीँ आएर खुला रुपमा कोरोना नियन्त्रण गर्न यस्तो गर्छौं भनेर पनि भनेको छ जस्तो मलाई लाग्दैन ।

नर्सिङ पेशासँगै मोडलिङलाई पनि अगाडी बढाइरहनुभएको छ, दुईतिर कसरी टाइम म्यानेज गर्नुभएको छ ?

‘जहाँ इच्छा, त्यहाँ उपाए’ भन्ने त सबैलाई थाहै छ, तर पनि कतिपय अपुर्चुनिटी मिस हुन्छ । मैले नर्सिङलाई नै आफ्नो करियर बनाइसकेको छु । अब नर्सिङलाई छाडेर कलाकारितामा आउँछु भन्ने अवस्था छैन । मैले मेरो कलाकारिताको सौखलाई पूर्णतया त्याग्छु भन्न पनि सक्दिनँ, त्यसैले आफुले भ्याएसम्म मोडलिङलाई पनि समय दिने गरेको छु । तर धेरै भन्दा धेरै अपुर्चुनिटी चाहीँ मिस हुन्छ । नर्स भएर बिरामीको सेवा गर्नु गर्वको कुरा हो, त्यसैले दुख लाग्दैन ।

कोरोना महामारीको यो अफ्ठ्यारो परिस्थितीमा के भन्न चाहानुहुन्छ ?

यो परिस्थितीमा आफु कसरी बच्ने भन्ने तिर ध्यान दिन आग्रह गर्छु । सरकारको मुख ताकेर नबस्नुस् । किनभने कोरोना लाग्यो भने सरकारलाई लाग्ने होइन हामीलाई लाग्ने हो । हाम्रो जिवन हामीलाई अमूल्य छ, हामी आफु नै सचेत होऔं, सरकारले जारी गरेको नियमहरुलाई पालना गरौं । सामाजिक सञ्जालमा फैलाइएका अफवाहरुलाई नसुनौं, सामाजिक दुरी कायम गरौं, जुठो खानेकुराहरु नखाऔं, मास्क लगाऔं, खानेकुराहरुमा विशेष ध्यान दिने गरौं । स्यानिटाइजर प्रयोग गर्ने, साबुन पानीले अनिवार्य हात धुने गर्नुपर्छ ।