डोटीमा जिप दुर्घटना : २ को मृत्यु, ७ घाइते

डोटीमा जिप दुर्घटना : २ को मृत्यु, ७ घाइते


धनगढी – दार्चुलाबाट धनगढीतर्फ जान लागेको जिप बिहान डोटीमा दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ खडिनामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

घटनास्थलमै मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन । घाइते अवस्था धनगढी पुर्‍याइएकी दार्चुलाको लेकम गाउँपालिका–६ का हरिश पार्कीकी २ वर्षीया छोरी रितिकाको निसर्ग हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकका बुवा पार्की र आमा भावना ओड पार्की पनि घाइते भएका छन् ।

दुर्घटनामा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–५ का १९ वर्षीय बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका–६ बस्ने ४५ वर्षीय जगतसिंह धामी, डिलासैनी गाउँपालिका–६ का १७ वर्षीय अर्जुन लुहार, डिलासैनी–३ कि २२ वर्षीया रमिता ओड र मालिकार्जुन गाउँपालिका–४ बस्ने ७४ वर्षीया मानमति धामी पनि घाइते भएका छन् । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।