छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

File Photo

काठमाण्डु – विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ फुल चोकस्थित सडकमा प्रदेश १–०२–००१ ख ८१५६ नम्बरको ट्रकले को२४प ८४७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार ३५ वर्षीय लक्ष्मण उरावको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तकोशी न्यूरो अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–३ बाँसघारीस्थित सडकमा बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बा प्र ०१–००४ क ०१३० नम्बरको मिनि टिप्परको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको शुद्धोधन गाउँपालिका–३ सखुवानीमा लु२१प ८६७२ नम्बरको स्कुटरलाई बा२९प २२०० नम्बरको मोटरसाइकलले ठक्कर दिई शनिबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार ६२ वर्षीया दिलकुमारी जिसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।