लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना, एक जनाको मृत्यु

लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना, एक जनाको मृत्यु


काठमाण्डु-नुवाकोटको काफलडाँडामा हाइलक्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका–८ काफलडाँडामा शनिबार काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाँदै गरेको बा १४ च ३८५४ नम्बरको निजी हाइलक्स गाडी सडकबाट ५० मिटर तल खसेको हो ।

दुर्घटनामा काठमाडौंको तारकेश्वर नगरपालिका– ९ का ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा चालक काठमाडौंको तारकेश्वर १ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन– ३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।