नागढुंगामा दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

नागढुंगामा दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको प्रवेशद्वारा चन्द्रागिरि नगरपालिका–२ नागाढुंगामा आईतबार साँझ भएको सवारीसाधन दुर्घटनामा १ जनाको मृत्यु र ९ जना घाइते भएका छन् ।

चितवनबाट काठमाण्डु आउँदै गरेको ग१ख ५५४६ नम्बरको हाइस रोकेको अवस्थामा आफैं गुड्न गई सडक छेउको पेटीमा ठोक्किँदा ठेगाना नखुलेकी अन्दाजी २५/२६ वर्षीया सविना गुरूङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ ।

हाइस चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घर भएका ३० वर्षीय राजेश घले गुरुङलाई सवारीसाधनसहित प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका घाइतेहरूमा चितवनको कालिका नगरपालिका–७ की ६८ वर्षीया तारादेवी कुमाल, चन्द्रागिरि नगरपालिका–१५ कि विन्दु देवकोटा र ३० महिनाका उनका छोरा दिव्यन पोख्रेल, भरतपुर महानगरपालिका–६ की ४० वर्षीया अनिता थापा र उनकी १७ वर्षीया छोरी एरिसा थापा, भरतपुर महानगरपालिका–४ का ३७ वर्षीय मोहित गुरुङ, कालिका नगरपालिका–७ की २५ वर्षीया सीमा कुमाल र उनका ६ वर्षीय छोरा इसान कुमाल, सर्लाहीको सोल्टी बजारकी २० वर्षीया कुसुम राई घाइते भएका छन् ।