पार्टी फुटाउन अध्यादेश ल्याउने ओलीको तयारीमा देउवा बाधक

पार्टी फुटाउन अध्यादेश ल्याउने ओलीको तयारीमा देउवा बाधक


काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को अधिवेशन स्थगित रहेको बेलामा साना पार्टी फुटाउन अध्यादेश ल्याउन गरेको तयारीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाधक बनेका छन् ।

प्रधानमन्त्री ओलीले अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्केपछि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएका थिए । ओलीले नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टीसहितका साना पार्टीहरूलाई टार्गेट बनाएर अध्यादेश ल्याउने तयारी गरे पनि त्यो उनको प्रयास कांग्रेस सभापति देउवाले रोकिदिएका हुन् ।

ओलीले देउवासँग भेटेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बताएपछि देउवाले तत्कालै त्यस्तो काम नगर्न ओलीलाई सुझाएका थिए । ओलीले त्यस्तो जानकारी आफूलाई गराएपछि देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई अध्यादेशबारे चनाखो रहन र ल्याउने विषयमा सहमति नजनाउन निर्देशन दिएको देउवा निकट स्रोतले जानकारी दियो ।

‘प्रधानमन्त्रीज्यूले केही दलका साथीहरूले अध्यादेश ल्याउन पटक–पटक आग्रह गर्नुभएकाले ल्याउने तयारी गरेको छु । के गर्दा उपयुक्त हुन्छ भनेर सुझाव माग्नुभएको थियो,’ देउवा निकट स्रोतले काठमाण्डु पार्टीसँग भन्यो, ‘सभापतिज्यूले अहिले परिस्थिति अनुकुल छैन । बाढीपहिरोबाट पीडित नागरिकले तत्काल पाउनुपर्ने राहत पाएका छैनन् । फेरि साना दलहरूलाई फुटायो भने झन तहसनहस हुन्छ । तसर्थ तत्कालका लागि यो काम नगरौँ भनेर भन्नुभयो ।’

देउवा सहमत नभएपछि दसैँ अघि नै अध्यादेश ल्याउने तयारीमा रहेका ओली दसैँसम्मका लागि रोकिएका थिए । दसैँ सकिएपछि ओलीले फेरि अध्यादेशको तयारी अगाडि बढाएको निकटस्थ स्रोतले जानकारी दियो । तयारी गरे पनि देउवाले यसबारे सहमति नजनाएकाले तत्काल अध्यादेश ल्याउन सक्ने अवस्थामा ओली नरहेको पनि स्रोत बताउँछ ।

कांग्रेसमात्र होइन सत्तामा रहेका दलहरूको गठबन्धनमा रहेका अन्य दलहरू पनि अध्यादेश ल्याउने विषयमा सकारात्मक नभएको बताइन्छ । ओलीलाई आफ्नै दल एमालेभित्र पनि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने विषयमा काध थाप्न धेरै नेता तयार नभएको देखिन्छ । ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्री रहेका पार्टी उपाधयक्ष विष्णु पौडेल नै ओलीका कदममा सकारात्मक नभएका निकटस्थ नेताहरू बताउँछन् । एमालेका केही नेता त एकीकृत समाजवादी पार्टीका नेताहरूलाई फुटाएर एमालेमा भित्र्याउन तत्काल हतार गर्न नहुने पक्षमा छन् ।

अध्यादेशबारे ओलीको प्रस्तावमा देउवा सहमत नभएपछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अध्यादेश रोक्न सक्रियता बढाएका छन् । उनले कांग्रेस सभापति देउवालाई भेटेर राजनीतिक दलसम्बन्धी अध्यादेश आएमा आफ्नो पार्टी फुट्ने भन्दै आफूले पहिले लगाएको गुन नबिर्सिन आग्रह गरेका कांग्रेसका एक नेताले जानकारी दिए । पार्टी बचाइदिनका लागि नेता नेपालले आग्रह गरेपछि देउवाले ओलीको तयारीमा सकारात्मक जवाफ नदिएको पनि कांग्रेसका एक नेताले बताए ।

गत असारमा भएको महाधिवेशनपछि एकीकृत समाजवादीबाट उम्मेदवार भइ बाराबाट जितेका कृष्णकुमार श्रेष्ठ, डोटीबाट जितेका प्रेमबहादुर आले र डोल्पाबाट जितेका धनबहादुर बुढा एकीकृत समाजवादी पार्टीको सम्पर्कमा छैनन् । उनीहरूले आफू निकटस्थहरूलाई अब आफूहरू एकीकृत समाजवादीमा नबस्ने बताउने गरेका छन् । त्यो बाहेक एकीकृत समाजवादीमा उपाध्यक्ष भानुभक्त जोशीलगायत नेताहरू असन्तुष्ट छन् । ती नेताहरूलाई राजनीतिक दलसम्बन्धी अध्यदेशमा राष्ट्रिय पार्टी नभएका दलका सांसदको स्वतन्त्र हैसियत हुने व्याख्या गराएर एमाले भित्र्याउने रणनीति प्रधानमन्त्री ओलीको छ ।

अर्कोतर्फ विद्यमान कानुन अनुसार पार्टी विभाजन हुन नसक्ने भन्दै जसपा नेपाल सर्वोच्च अदालतमका पुगेकाले पनि त्यो पार्टी विभाजनलाई वैधानिकता दिन ओलीले अध्यादेश ल्याउन चाहेका छन् । जसपा नेपालबाट विभाजित अशोक राई नेतृत्वको जसपा अहिलेको सत्तागठबन्धनमा छ । ओली नेतृत्वको सरकारमा सो पार्टीबाट दुई मन्त्री छन् ।

तर, परिस्थिति हेर्दा आफ्नै पार्टीभित्र र बाहिरको उल्झनले ओलीलाई अध्यादेश ल्याउन त्यति सहज देखिन्न ।