विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सको ढाका–काठमाडौँ उडान बन्द

विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सको ढाका–काठमाडौँ उडान बन्द


काठमाडौँ– गत सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका–काठमाडौँ उडान बन्द गरेको छ । विमान अभावका कारण काठमाडौँ–ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ ।

७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालस्थित युएस बंगलाका प्रतिनिधिका अनुसार विमान अभाव भएपछि करिब एक महिनाका लागि उडान बन्द गरिएको हो । उपलब्ध भएको जहाजहरुमध्ये एउटा जहाज पनि परीक्षण (सी चेक) का लागि लानुपरेकाल काठमाडौँ ढाका उडान बन्द गर्नुपरेको हो ।

बंगलादेशको सञ्चारमाध्यम डेली स्टारसँग कुराकानी गर्दै युएस बंगलाका महाप्रबन्धक कामरुल इस्लामले विमान अभावका कारण काठमाडौँ ढाका बन्द गर्नुपरेको बताएका छन् । तर, यस बारेमा त्रिभुवन विमानस्थललाई भने अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।