आईजीपी अर्यालले एसएसपि लोहनीलाई बचाउन खोजेपछि गृहमन्त्री किन भए ‘फायर’

आईजीपी अर्यालले एसएसपि लोहनीलाई बचाउन खोजेपछि गृहमन्त्री किन भए ‘फायर’


काठमाडौँ – गृह मन्त्रालयले विवादास्पद बनेको सनम शाक्य हत्या प्रकरणमा प्रहरी मुख्यालयले गरिरहेको छानबिनप्रति संशय प्रकट गर्दै छुट्टै छानबिन समिति गठनको तयारी गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डिआईजी पुष्कलराज रेग्मी नेतृत्वमा गत साता चार सदस्यीय छानबिन समिति गठन गरेका थिए ।

समितिले प्रतिवेदन तयार नपार्दै गृहमन्त्री रामबहादुर थापा बादलले छुट्टै उच्चस्तरीय छानबिन समिति गठनको तयारी गरेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ । चीनको केरुङ नाका हुँदै राजधानी भित्र्याइएको तस्करीको ३३ किलो सुन हराएपछि सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीले भरियामध्येका सनम शाक्यलाई अपहरण गरी धरान लगेर हत्या गरेको घटनामा महानगरीय अपराध महाशाखा काठमाण्डुका उच्च अधिकारीको समेत शंकास्पद भूमिका देखिएपछि छानबिन समिति गठन गरिएको थियो ।

अवकाशको मुखमा रहेका महानिरीक्षक अर्यालले आफूसँगै आगामी २८ चैतमा अवकाश पाउन लागेका डिआईजी रेग्मीलाई छानबिनको जिम्मा दिएका थिए । तर, प्रहरी नेतृत्वको कामप्रति असन्तुष्ट गृहमन्त्रीले आफैं घटना छानबिनका लागि चासो दिएको उनको निजी सचिवालय निकट स्रोतले बतायो ।

डिआईजी रेग्मी नेतृत्वको प्रारम्भिक छानबिनमा महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको भूमिका हत्या प्रकरणमा शंकास्पद देखिएको छानबिन समितिका एक सदस्यले बताए । छानबिनका क्रममा एसएसपी लोहनीमाथि कारबाही गर्नुपर्ने दबाब बढेपछि आईजिपी अर्यालले उक्त घटना साम्य पार्न खोजेको आरोप लागेको छ ।

‘महानगरीय अपराध महाशाखाको कार्यक्षेत्र काठमाण्डु उपत्यका मात्रै हो’, समितिका एक सदस्यले काठमाण्डुटुडेसँग भने, ‘धरानको घटना मिलाउन उता प्रहरी नै नभएजस्तो गरेर यहाँबाट अर्काको कार्यक्षेत्रमा टोली पठाउने र जाने प्रहरी अधिकारीहरुको भूमिका शंकास्पद देखिन्छ ।’

धरानमा भेटिएको शाक्यको मृतकको शवलाई विराटनगर पु¥याएर मुचुल्का गरिएको थियो । बारदात (घटना) स्थल नै परिवर्तन गरेपछि अपरेशनमा खटिएको टोली र एसएसपी लोहनीको नियतमै शंका उत्पन्न भएको हो । यसअघि उपत्यकाबाहिरका गम्भीर प्रकृतिका घटना छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली पठाउने गरिन्थ्यो । तर, महानगरीय अपराध महाशाखाबाट टोली गएको विषयमा सिआईलाई समेत जानकारी गराइएको थिएन ।

घटनामा संलग्न भनिएका प्रहरी अधिकारीको सुन तस्करीका नाइके गोरे भनिने चुडामणि उप्रेतीसँग निकट सम्बन्ध रहेको अनुसन्धनमा खुल्न आएको छ । घटनापछि गोरे फरार छन् । घटनाअघि र पछि समेत गोरेको शंकास्पद भूमिका रहेको ठानिएका सई सञ्जेलसँग सम्पर्क हुने गरेको देखिएको समेत छानबिन समिति सदस्यले जनाए । गोरेले सञ्जेललाई भारतीय नम्बरबाट टेलिफोन गर्ने गरेको देखिएको उनले बताए ।