सभामुखका उम्मेदवार सापकोटाको मुद्दाको सुनुवाई माघ २२ मा हुने

सभामुखका उम्मेदवार सापकोटाको मुद्दाको सुनुवाई माघ २२ मा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –सभामुखको सिफारिसमा परेका नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्धाको सुनुवाई हुने भएको छ । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओली सापकोटालाई सभामुख बनाउन सहमत भएपछि नेकपाको सचिवालयले उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच सभामुख चयनमा मत विभाजन भएपछि सभामुख चयन प्रक्रिया अवरुद्ध भएको थियो ।

सभामुखमा सिफारीस सापकोटाविरुद्ध परेको १ मुद्धा र २ वटा रिटमा यही माघ २२ गते सुनुवाइ हुने भएको छ। सापकोटाविरुद्ध परेको मुद्धा संवैधानिक इजलासले हेरिरहेको छ। प्रधानन्यायाधीस चोलेन्द्र शमसेर राणाको नेतृत्वको पांच सदस्यिय इजलासले उक्त मुद्दाको अन्तिम फैसला गर्नेछ ।

सापकोटामाथी २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबांझका अर्जुन लामाको हत्या गरेको आरोप छ। उनको शव दुई महिनापछि गाडिएको अवस्थामा भेटिएको थियो ।

सापकोटासंगै पूर्व राज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङमाथी हत्याको आरोप लागेको थियो । दुवै जनाविरुद्ध लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएकी थिइन।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत असार २५ गते उक्त मुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश दिएको थियो। आयोगले समेत उक्त मुद्दा आयोगमा दर्ता भएको जानकारी समेत सर्वोच्चलाई दिइसकेको छ ।

सापकोटाविरुद्ध अर्जुन लामाको हत्यासंगै २०६८ असार ६ मा परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा र २०७२ चैत्र २६ मा अधिकारकर्मी सुशील प्याकुरेलले अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै दायर गरेको रिट पनि सर्वोच्चमा छ।

सापकोटालाई नेकपाले सभामुखको उम्मेदवार बनाएसंगै मानवअधिकारीवादी संघ संसस्थाहरु र आईएनजिओहरुले विरोध गर्न सुरु गरिसकेका छन् ।