काठमाडौं – सभामुखमा उम्मेद्धवारी दिएका अग्नि प्रसाद सापकोटालाई विभिन्न नेतृत्वहरुले कसैको आग्रह र पूर्वाग्रहमा काम नगर्न सुझाव दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री भीमसेनदास प्रधानले सभामुखमा उम्मेद्धवारी दिएका अग्नि प्रसाद सापकोटाले कसैको पनि आग्रह र पूर्वाग्रहमा काम गर्न नहुने सुझाव दिएका हुन् ।
उनले भने,‘उहाँ सभामुखको साझा उम्मेद्धवार हो । अब उहाँले आग्रह र पूर्वाग्रह त्यागेर काम गर्नुपर्छ । बास्तवमा उहाँको अग्निपरीक्षा सुरु भयो ।’
उनले व्यक्तिग रुपमा आफ्नो पनि सापकोटासँग राम्रो चिनजान भएको र खुल्लामञ्चको विषयमा साथ दिएको सुनाए । उनले भने,‘उहाँ व्यक्तिगत रुपमा पनि असाध्यै राम्रो मान्छे हुनु्हुन्छ, उहाँले जनताको ईस्युमा साथ दिने प्रखर नेताको छबि बनाउनुभएको छ । हिजो सुवासजीले २ पटक सभामुखको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले जुन किसिमले आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो, त्यो हामीलाई ठिकै लागेको थियो । तर, पछिल्लो पटक महराजी सभामुख हुनुभयो, उहाँको भूमिका त्यस्तो पाएनौं । सुवासजी त अवरोधलाई पनि छलफलको माध्यमबाट समाधान निकाल्नुहुन्थ्यो । अब अग्निजीले पनि सुवासजीको जस्तै भूमिका निभाउनुहोला ।’ उनले सभामुखमा कसैको उम्मेद्धवारी नपरेकोले सापकोटा सर्वसम्मतीले विजयी हुने बताउँदै उपसभामुखमा कांग्रेसको दाबी हुने बताए । ’
नेता प्रधानले एमसिसीको कम्प्याक्टको सबै कुरा वेबसाईटमा भएकोले नेपालले सबै मापदण्ड पूरा गरेर पाएको दाबी गरे । उनले भने,‘अब यसको लिगल स्टाटस चाहिएको छ । सबैले यसलाई स्विकार्नुपर्छ । अहिलेको सत्तापक्षले पनि यसलाई पास गर्नुपर्छ । यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमिकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ ।’’ उनले एमसिसीको बारेमा बोल्दा अध्ययन तथा अनुशन्धान गरेर बोल्नुपर्ने सुझाव दिए । उनले भने,‘हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालिन नेकपा एमालेले विरोध गर्यो, त्यो त्यतिकै कोलाप्स भयो । त्यो लागु भएको भए धेरै राम्रो हुन्थ्यो ।’
एमसिसीमा भारतको पनि सहमति लिनुको कारण नेपालको उर्जा खेर नजाओस भन्ने नै भएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘साझा दस्तावेजको रुपमा एमसीसीलाई पारित गर्नुपर्छ । नेपालको समृद्धिको लागि एमसिसी चाहिएको छ । कांग्रेस पारित गर्ने पक्षमा छ ।’
उनले सरकारले ल्याउन लागेको सूचना प्रविधि विद्येयकमा आफूहरुको विरोध व्यापक रहेको स्पष्ट पारे । उनले भने,‘दण्ड सजायको प्रावधान नै गलत छ । यो प्रावधान हटाउनुपर्छ । यसो गर्दा सरकारलाई नै फाईदा हुन्छ ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले लामो समयपछि सभामुखको निकास निस्किएको सुनाउँदै नेकपाले योग्य उम्मेद्धवार बनाएको स्पष्ट पारे । उनले भने,‘अब हामीले यसको बारेमा टिकाटिप्पणी गर्न आवश्यक र औचित्य छैन् ।’ सभामुख अत्यन्तै महत्वपूर्ण पद भएकोले सबैलाई मिलाएर लैजानुपर्ने पनि उनको सुझाव छ । उनले थपे,‘उहाँलाई सफल कार्यकालको शुभकामना छ ।’
अध्यक्ष केसीले एमसिसीका शर्तहरु हेर्नुपर्ने बताए । उनले भने,‘हामीले शर्तहरु हेर्नुपर्छ । हिजो महाकाली सन्धि पारित गर्ने बेलामा पनि त्यस्तै ठूलो कुरा गरिन्थ्यो । तर, अहिले कति नाफा लिन सक्यौं त ? हामीले कोशी र महाकाली दिएकै हो, अहिले पनि अपर कर्णाली भारतीय जि.एम.आर. कम्पनीसँग छ, हाम्रो कमजोरीलाई बाहृय शक्तिले खेल्छन्, यहाँको राजनीतिज्ञ र प्रशासनलाई उनीहरुले खरिद गर्छनु ।’ नेपालका अधिकांश जलस्रोत भारतले होल्ड गरेको राखेको छ । उनले जनताको पक्षमा काम गर्न सरकारलाई सुझाव दिए । उनले भने,‘नेताहरुले छलकपटको राजनीतिक गर्नुहुँदैन् । शक्ति केन्द्रले खेल्ने भनेको यस्तैमा हो ।’
नेपालको प्राकृतिक स्रोत र साधनको सही सदुपयोग गर्नुपर्ने उनको जोड छ । उनले भने,‘शक्ति केन्द्रको शुभकामना र आर्शिवाद लिएर राज्यसत्तामा रजाई गर्न खोज्नुहुँदैन् ।’ उनले एमसिसी पारित गर्नुपर्छ भनेर प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलले भनेको सुनाउँदै यसका शर्तप्रति पनि ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने,‘एनसेलसँग कर उठाउने कुरामा कुनै चिन्ता छैन् । दिनदिनै भ्रष्टाचार बढेको छ । यसप्रति ध्यान छैन् ।’ उनले एमसिसी संसदबाट पारित गर्न जरुरी रहेको औंल्याए । उनले संसदबाट पारित भएको कुरा हिसाबकिताको रुपमा रहने टिप्पणी गरे ।
उनले अहिले माथिदेखि तलसम्म भ्रष्टाचार बढेको सुनाए । उनले भने,‘सिंहदरबारको अधिकार तलसम्म गयो भनिएको छ, तर भ्रष्टाचार तलसम्म पुगेको छ । अहिलेसम्म प्रदेशको न्वारान गर्न सकेका छैनन् । अहिले देशको यस्तो अवस्था हुनुमा सत्तापक्षको मात्रै दोष नभएर प्रतिपक्षीको पनि दोष छ । उसको भूमिकाले गर्दा जनता निराश छन् । अहिले ठूलो भ्रष्टाचारीलाई काँडाले पनि छोएको छैन् ।’
फरक प्रसँगमा उनले उपसभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको जिकिर गरे । उनले भने,‘हामीलाई यसबारेमा प्रस्तावपनि आएको छैन् । हामीले कसैसँग छलफल पनि गरेका छैनौं ।’ केसीले सरकारले ल्याउन लागेको सूचना प्रविधि विद्येयकका व्यवस्थालाई संशोधन गर्नुपर्ने माग गरे । तर, पत्रकारहरुले पनि जे मन लाग्यो त्यही गर्नपनि नपाउनेतर्फ पनि उनले ध्यानाकार्षण गराए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले अग्नि सापकोटा आफ्नो जिल्लाको मान्छे भएकोले सभामुखको कार्यकाल सफल रहोस भन्ने शुभकामना दिएका छन् । उनले भने,‘उहाँ सभामुख भएकोमा म खुशी छु, उहाँ हाम्रै जिल्लाको नेता हो । उहाँलाई बधाई दिन चाहन्छु ।’
एमसिसीको बारेमा अहिले राष्ट्रिय रुपमै चर्चा तथा परिचर्चा भएको सुनाउँदै उनले नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिए ।
उनले भने,‘कुनैपनि सहयोग, अनुदान लिँदा हामीले हाम्रो देशको हित र स्वार्थ हेर्नुपर्छ, अहिले चीनबाट सहयोग आएको छ । अमेरिकाले पनि एमसिसीमार्फत सहयोग गर्दैछ । हिन्तूस्तानले पनि सहयोग गर्दै आएको छ । तर, नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हित हेर्नुपर्छ ।’
उनले अहिले महत्वपूर्ण कुरा भनेको मुलुक कता जाँदैछ ? भन्ने नै रहेको सुनाए । उनले थपे,‘अहिलेको सरकारलाई जनताले अत्यन्तै ठूलो मौका दिएका थिए । जनताले यो सरकारलाई भारी बहुमत दिएका थिए । तर, यो दुई वर्ष सरकारले सुवर्ण मौकाको दुरुपयोग गरेको छ ।’
सरकारले यो दुई वर्षमा खास के काम गर्यो त? भनेर हेर्दा मुख्य काम गरेको भन्ने केही पनि नदेखिएको उनको आरोप छ । उनले भने,‘बरु, यो बीचमा भ्रष्टाचार बढेको छ । मलाई त कता कता यो सरकारलाई के भान छ भने हामीसँग बहुमत छ, हामीले जे गरेपनि हुन्छ भन्ने मात चढेको छ ।’
नेकपाले अहिलेसम्मको समय पद बाँड्नमै व्यतित गरिरहेको उनको गम्भिर आरोप छ । उनले भने,‘मुलुकको विकासमा सरकारले ध्यान नै दिएन् । उसले मुलुकको हितमा काम गरेको देखिएन् ।’ उनले सरकार आफैंले यो बीचको अवधि कसरी खेर फालेको छ ? भन्ने कुरा उसले नै राम्रोसँग केलाएर हेर्न सुझाव दिए । उनले भने,‘सरकारले आफूले पाएको भारी बहुमतको सदुपयोग गरेको देखिएकै छैन् ।’
प्रतिक्रिया