३० लाख युवा खाडी जाँदा ४२ प्रतिशत जमिन बाँझो : कृषिमन्त्री खनाल

३० लाख युवा खाडी जाँदा ४२ प्रतिशत जमिन बाँझो : कृषिमन्त्री खनाल


काभ्रे–कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले युवा जनशक्ति विदेशिँदा नेपालको उर्वर भूमि बाँझो हुन पुगेको बताएका छन्।

दुई जिल्लामा गरिएको अध्ययनबाट कुल जमिनको ४२ प्रतिशत जमिन बाँझो देखिएको भन्दै त्यसको मुख्य कारण बैदेशिक रोजगारी रहेको मन्त्री खनालको भनाई छ ।

काभ्रेको पात्लेखोलामा रामबहादुर गौतमले सञ्चालन गरेको गाई र तरकारी फामको अवलोकन पछिको कार्यक्रममा बोल्दै मन्त्री खनालले रोजगारीको सिलसिलामा मलेसिया र खाडी मुलुकमा मात्र २० देखि ३५ वर्ष उमेर समूहका २८ देखि ३० लाख युवा विदेशिँदा त्यसको असर कृषि क्षेत्रमा परेको बताए।

रोगजारी सृजना र आयआर्जमा कृषि सबैभन्दा राम्रो माध्याम हुँदाहुँदै पनि कृषि प्राथमिकतामा पर्न नसके भन्दै उहाँले गुनासो गर्नुभयो । जसका कारण आयातमा भर पर्नु परेको उहाँको भनाई थियो । अहिले एक सय ३५ अर्वको खाद्यान्य आयात हुँदा अलैची, चिया कफि, अदुवा र केही मात्रामा गोलभेडा गरी जम्मा १२ अर्वको मात्र निर्यात भएको जानकारी उनले जानकारी दिए।

खेती गरेर पनि फाइदा हुन सक्छ भन्ने निक्कै सानो हिस्सा रहेको र केही गछौं भन्नेहरुसँग श्रम, प्रविधि, जमिनको अभाव रहेकाले कृषकमा निरासा छाएको मन्त्री खनालले बताउनुभयो । त्यस्ता किसानका लागि अनुदान, तालिम, आधुकिन औजार दिएर कृषिलाई माथि उठाउनु पर्ने उनकाे भनाइ थियाे।

मन्त्रालयसँग बजेट थोरै भएर पनि खर्च हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाए।  विगतमा वितरण गरिएको अनुदान खास किसानकोमा नपुगेको छानिवनबाट पुष्टि भएको भन्दै त्यसलाई व्यवस्थित गरिने उनको भनाई छ।

अनुदानका बारेमा अध्ययन गर्न बनेको समितिले केही दिनमै अन्तिम प्रतिवेदन सार्वजनिक गर्दैछ । त्यस्तै उनले चितवन, पोखरा र विराटनगरमा रहेका दुग्ध कारखाना सञ्चान गर्न सके एक किलो पाउडर दुध पनि आयात गर्न नपर्ने भन्दै छिट्टै सञ्चालन गरिने बताए।

काभ्रेको पात्लेखेतका कृषक रामबहादुर गौतमले झण्डै ८ सय रोपनी जग्गामा तरकारी, तथा फलफूल र ३ सयभन्दा बढी गाइपालन गरेर उदाहरणीय काम  गरेका छन्।