बास्नादार विदेशको चामल होइन, स्वदेशी चामलको भात खाऔं : प्रधानमन्त्री ओली

बास्नादार विदेशको चामल होइन, स्वदेशी चामलको भात खाऔं : प्रधानमन्त्री ओली


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन्।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आइतबार आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए। ‘हाम्रो देशको लागि यति ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन। कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठूलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ,’ उनले भने, ‘जबरजस्त रुपमा कृषिमा काम गरेका मानिसलाई विस्थापन गर्ने भनेको होइन तर विकल्प दिएर अन्य काममा यो जनशक्ति उपयोग गर्नुपर्दछ।’

प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनु पर्ने बताए। ‘एकै ठाउँमा ठूलो मात्रामा एकै प्रकारकोे बाली लगाउनु पर्दछ जसले गर्दा निर्यात गर्न सजिलो हुन्छ,’ उनले भने, ‘हाम्रो परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्दछ । यसका लागि कृषि मन्त्रालयको नेतृत्वमा भूमी व्यवस्था मन्त्रालय र सहकारीहरुलाई साथ लिएर अघि बढ्नु पर्दछ ।’

नेपालीहरुको खाद्य आदत परिवर्तन हुँदै गएकोले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘पहिला नेपालीहरुमा सागसब्जी कम्ति खाने बानी थियो । अहिले यसमा परिवर्तन आएको छ । त्यस कारण अहिलेको भन्दा चार गुणा बढी सागसब्जीको उत्पादन गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘बास्नादार र विदेशबाट आयात गरिएको चामल भन्दा स्वदेश मै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ ।’