काठमाडौँ – प्रतिनिधिसभाको मंगलबारको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि छलफलका क्रममा उठेका जिज्ञासामा गृहमन्त्री थापाले विश्वविद्यालयले शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए।
सांसद खगराज अधिकारी, प्रेस सुवाल, पुष्पा भुसाल, नवराज सिलवाल, देवप्रसाद गुरुङ, राधाकुमारी ज्ञवाली, सरिता गिरी, अञ्जना विशङ्खे, सत्या पहाडीलगायतले सरकारले सो प्रस्ताव ल्याएर राम्रो काम गरेको बताएका थिए ।
बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कावा प्रधानमन्त्रीम ईश्वर पोखरेललाई तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
सदनमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले ‘राहदानी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गरे । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १० गते अपराह्न २ बजे बस्नेछ ।
प्रतिक्रिया