ललितपुरमा एआई शिक्षासम्बन्धी कार्यक्रम हुने

ललितपुरमा एआई शिक्षासम्बन्धी कार्यक्रम हुने


काठमाण्डु-‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्यूट (नामी) ले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष पाँचौँ संस्करणको शैक्षिक कार्यक्रम शुक्रबारदेखि पुस २२ गतेसम्म ललितपुरमा हुने जानकारी दिइएको हो ।

नामीका ‘एजुकेसन आउटरिच’ प्रमुख आलोक खत्रीले यस कार्यक्रमको पाँचौँ संस्करण ‘आर्टिफिसियल एन्टिलिजेन्स’ को आधार र त्यसको कार्यान्वयनमा केन्द्रित रहने जानकारी दिए । कार्यक्रम संसारभरबाट वैज्ञानिक, प्राध्यापक र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने दक्षिण एसियाकै ठूलो र सबैभन्दा पृथक मञ्च भएको उनको भनाइ थियो ।

खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा हुने कार्यक्रममा विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले एआईका विविध पक्ष र अवधारणाहरू प्रस्तुत गर्ने कार्यक्रम छ ।