वायु प्रदुषणले साेच्ने क्षमतामा कमी

वायु प्रदुषणले साेच्ने क्षमतामा कमी


एजेन्सी– वायु प्रदुषणले हाम्रो फोक्सो लगायत श्वासप्रश्वासमा मात्र हैन मस्तिष्कमा समेत गम्भीर हानी पुर्याइरहेको अनुसन्धानले देखाएको छ । सीएनएनका अनुसार लामो समयसम्म दुषित हावासँग सम्पर्कमा रहँदा त्यसले हाम्रो सोच्ने क्षमतामा कमी ल्याउने र विशेषगरी उमेर खाएका पुरुषहरुमा यसले चाँडै असर गर्ने गरेको पत्ता लगाइएको हो ।

‘प्रोसिडिङ अफ नेशनल एकेडेमी अफ साइन्सेस’ का वैज्ञानिकहरुले मंगलबार सार्वजनिक गरेको अध्ययन अनुसार वायु प्रदुषणले मानिसको बोल्ने र सोच्ने शक्ति कमजोर बनाउने लगायतका दिमाग सम्बन्धी समस्या निम्त्याउने गर्दछ । यस क्रममा ३२ हजार मानिसहरुमा २०१० देखि २०१४ का बीच विभिन्न सर्वेक्षण गरिएको थियो जहाँ कसैले लामो समयसम्म त कसैले छोटो अवधिका लागि दूषित हावाको सामना गर्ने गरेका थिए । यसपछि अनुसन्धानकर्ताहरुले फोक्सो र आन्तरिक अङ्गमा जस्तै प्रदुषणले मानिसको बोली र सोचमा पनि उत्तिकै नकारात्मक प्रभाव पारिरहेको पत्ता लगाएका हुन् । यस्तो समस्याले पछि गएर ‘अल्जाइमर’ र ‘पागलपन’को रोग हुने सम्भावना अधिक रहेको बताइएको छ ।

विशेषज्ञहरुले विशेष गरी कम विकसित देशहरुमा यसको असर गम्भीर बन्दै जाने सम्बन्धी चिन्ता व्यक्त गरेका छन् ।

त्यसकारण दूषित हावा सम्बन्धी मानिसहरुले त्यति ध्यान दिने नगर्दा यसले दिर्घकालीन रुपमा असर गर्ने सम्बन्धि सबै सचेत हुनुपर्ने बताइएको छ । यसरी वायु प्रदुषणले अप्रत्यक्ष रुपमा सामाजिक कल्याणको कार्यमा समेत हामीले सोचेभन्दा धेरै ठूलो प्रभाव पार्न सक्ने चेतावनी दिइएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १० मध्ये नौ जनाले सास फेर्दा उच्च मात्रामा रहेको प्रदुषणयुक्त हावा लिने गरेका छन् जसमा पनि सबैभन्दा खराब तरिकाले प्रभावित क्षेत्रमा अफ्रिका र एसिया रहेका छन् । विश्व स्वास्थ्य संगठनले मापन गरेका सबैभन्दा बढी प्रदुषित २० शहरहरु विकासोन्मुख देशहरुमै पर्ने यसअघि बताइएको थियो । तर शहरमा बस्नेहरु मात्र यसको शिकार बन्ने गर्दैनन्, तथ्याङ्कका अनुसार भारतमा वायु प्रदुषणका कारण मुत्यु हुने ७५ प्रतिशत मानिस ग्रामीण क्षेत्रका बासिन्दा हुने गरेका छन् । त्यसैगरी उता विश्वकै सबैभन्दा बढी ग्रीनहाउस उत्सर्जन गर्ने देश चीनले भने प्रदुषणसँग लड्नकै लागि पछिल्लो समय विभिन्न प्रविधिको मद्दतले लिइरहेको छ जुन धेरै हद्सम्म प्रभावकारी साबित भइरहेको वातावरण विद्हरुको भनाइ छ ।