चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै वायुसेवा निगम

चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै वायुसेवा निगम


काठमाण्डु – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नजिकिएको बडादशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको निगमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी तदारुकताका साथ काम गर्न मंगलबार विभागीय प्रमुखलाई निर्देशन दिए ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका नायब महाप्रबन्धक (प्राविधिक), इन्जिनीयरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एयर वर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखलाई विमान नियमित उडानको कार्ययोजना ल्याउन निर्देशन दिइएको छ ।

अत्यावश्यक र अत्यन्त जरुरीबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहतका कर्मचारीलाई नपठाउन निर्देशन दिइएको छ । निगमका सबै विभागका इन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीलाई कार्यालयको काममा बाध पर्ने गरी बिदा नलिन निर्देशन दिइएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।