मौसम अनुकुल भएपछि त्रिभुवन अन्तर्राष्ट्रियसहित आठ विमानस्थलबाट हवाई सेवा सञ्चालन

मौसम अनुकुल भएपछि त्रिभुवन अन्तर्राष्ट्रियसहित आठ विमानस्थलबाट हवाई सेवा सञ्चालन


काठमाण्डु – मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको उनले बताए ।

यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो ।