आन्तरिकतर्फ हवाई उडान आजपनि ठप्प

आन्तरिकतर्फ हवाई उडान आजपनि ठप्प


काठमाण्डु-भारी वर्षाका कारण शनिवार पनि हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ ।

आज विहान जजिरा एयरको विमान काठमाडौं विमानस्थलमा अवतरण गरेको छ भने फ्लाइ दुबईको विमान डाइभर्ट भएको छ । एयर अरेबियाको विमान पनि अवतरण भएको छ । यस्तै दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा शुक्रबार पनि आन्तरिकतर्फका दुई सय भन्दा बढी उडान रद्द भएका थिए । हिजो अन्तर्राष्ट्रियतर्फ दुई विमान ‘होल्ड’ हुनका साथै धेरै उडान डिले भएका थिए ।

‘इन रुट वेदर’ बिग्रिएकाले अन्तर्राष्ट्रिय उडानका विमानलाई पनि अवतरणमा कठिनाइ भएको थियो । शुक्रबार थाइ एयरवेजको विमान करिब दुई घण्टा सिमरामाथिको आकाशमा होल्ड भएको थियो भने इण्डिगो एयर पनि एक घण्टा होल्ड भएर अवतरण भएको थियो ।