यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान

यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान


काठमाण्डु – हवाई यात्रुहरूको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान संख्या थपेका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान २–२ उडान थप गरेको छ ।

हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी १५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको छ ।

श्री एयरलाइन्सले पनि शुक्रबारदेखि काठमाण्डु–भरतपुर–काठमाण्डु रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ ।

यती एयरलाइन्सले पनि असोज १५ गतेदेखि काठमाण्डु–भद्रपुर–काठमाण्डु र काठमाण्डु–नेपालगञ्ज–काठमाण्डुमा १–१ उडान थपेको छ । असोज १८ गतेदेखि काठमाण्डु–जनकपुर–काठमाण्डु गन्तव्यमा १ उडान थपिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान चाप बढेपछि एयरलाइन्सले उडान थपेर यात्रुलाई गन्तव्य पुर्‍याइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित १८२ उडान र १८२ वटा अवतरण भएका थिए । जसमा १७ हजार ४ जना यात्रुले उडान गरेका थिए । अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । जसमा १५ हजार ९६२ यात्रुले सेवा लिएका थिए ।

कार्यालयका अनुसार गत सोमबार कुल ५९९, मंगलबार ५११ र बुधबार ४७३ वटा उडान भएका छन् ।