एयर इण्डियाको विमानमा बम राखिएको हल्ला निराधार, उडान नियमित

एयर इण्डियाको विमानमा बम राखिएको हल्ला निराधार, उडान नियमित


काठमाण्डु – पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट १ हप्ताको अवधिमै नेपालमा २ पटक यस्तो अफवाह फैलाइएको छ ।

सोमबार काठमाण्डुबाट भारतको नयाँदिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओरालेर जाँच भएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको विमानमा बमको हल्लापछि जाँच गर्दा कुनै शंकास्पद वस्तु फेला परेन ।

‘भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर अहिलेसम्म त्यस्तो कुनै शंकास्पद वस्तु फेला परेको छैन,’ प्रवक्ता कार्कीले भने ।

एयर इण्डियाको एआई–२१६ विमानमा बमको हल्लापछि विमानको जाँच भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । विमानको जाँचसँगै विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्यरूपमा सञ्चालन भइरहेको छ ।

दिउँसो २ बजे काठमाण्डु विमानस्थलमा अवतरण भएको एयर इण्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच गरेको थियो । विमान काठमाण्डुबाट १५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो ।

यसअघि कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्फोटक पदार्थ निस्किय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो ।

भारतको नयाँदिल्लीबाट भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा जाँच गरिएको थियो । विमानमा पनि कुनै शंकास्पद वस्तु फेला परेको थिएन ।