कैलाश सिरोहियाले आतंकित गरेको भन्दै अजय सुमार्गी पुगे प्रशासनमा, सुरक्षाको माग

कैलाश सिरोहियाले आतंकित गरेको भन्दै अजय सुमार्गी पुगे प्रशासनमा, सुरक्षाको माग


काठमाडौं–व्यवसायी अजेयराज सुमार्गी कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाविरुद्ध प्रशासनमा पुगेका छन्। सिरोहियाले आफूसँग बार्गेनिङ गर्दै आएको र उनको त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूविरुद्ध मिडियाको दुरुपयोग गरेको आरोप लगाएको भन्दै सुमार्गीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका हुन्।

 

कान्तिपुर दैनिक र कान्तिपुरसम्बद्ध अन्य प्रकाशन तथा प्रसारण संस्थाहरूले बारम्बार एकतर्फी रूपमा आफूविरुद्ध भ्रामक समाचार प्रकाशन तथा प्रशारण गरेको उनको दाबी छ।

 

सुमार्गीको लगानीमा हाल हिमालयन अनटप, इन्को प्यानल प्रालि, नेपाल स्याटलाइट, थाहा सञ्चार समूहलगायत एक दर्जनभन्दा बढी कम्पनी सञ्चालित छन्।

 

 

मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्षसमेत रहेका व्यवसायी सुमार्गीले दर्ता गरेको निवेदनमा कान्तिपुरका सञ्चालक कैलाशले आफूलाई बेचेको जग्गा पुरानै मूल्यमा फिर्ता गर्न नमानेपछि आफूविरुद्ध आधारहीन समाचार प्रकाशन तथा प्रसारण गरेको उल्लेख गरेका छन्।

 

 

व्यवसायी सुमार्गीले प्रशासनमा दिएको निवेदनमा आफ्नो सामाजिक तथा व्यावसायिक मान प्रतिष्ठामा क्षति र्पुयाउँदै आफू र आफ्नो परिवारविरुद्ध भौतिक आक्रमणसमेत गराउन सक्ने भन्दै आफू तथा आफ्नो व्यापार व्यवसायसमेतको सुरक्षा दिन अनुरोध गरेका छन्।

 

व्यवसायी सुमार्गीको निवदेनको पूर्ण पाठ    

 

श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ं।

 

मिति २०७४।९।११

 

विषय  : जीउ धनको शान्ति सुरक्षा गरी पाऊँ। म निवेदक निम्न लिखित व्यहोराको निवेदन  गर्दछु।

 

 

१.  म निवेदक विगत १२ वर्षदेखि दूरसंचार सेवालगायत विभिन्न किसिमका उत्पादन एवं सेवामूलक कम्पनीहरू स्थापना गरी व्यवसाय संचालन गरीे मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउँदै आइरहेको व्यवसायी हुँ। 

 

 

यसै क्रममा म शेयरधनी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. कम्पनीले जिल्ला काठमाडौं का.म.न.पा.वडा नं. ३५ तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स प्रा.लि.का संचालक कैलाशप्रशाद सिरोहिया र निजकी श्रीमती स्वस्तिका सिरोहियासमेत शेयरधनी संचालक रहेको काठमाडौं मार्ट प्रा.लि.को नाउँमा दर्ता रहेको जिल्ला काठमाडौं का.म.न.पा.वडा नं. १० कि. नं. ३१८ समेतका जम्मा क्षे.फ. ९-४-० जग्गा निज कैलाशप्रसाद सिरोहियाले व्यावसायिक आर्थिक संकट दर्शाउँदै किनिदिन अनुरोध गरेको हुँदा उल्लेखित जग्गामध्ये ५-९-०-० जग्गा रु. २३,२१,१२,०००/- मूल्यमा मिति २०७०।३।१६ मा मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.को नाउँमा खरिद गरी लिएको थियो।

 

 

उल्लेखित जग्गाहरू मेरो कम्पनीको नाउँमा खरिद गरेको करिब एक वर्षपछि निज कैलाशप्रसाद सिरोहियाको आर्थिक अवस्था  सबल भएपछि एवं जग्गाको मूल्य वृद्धि भइरहेको अवस्था हेरी उल्लेखित जग्गा पुन: आफ्नो नाउँमा मैले खरिद गरी लिएको मूल्यमा फिर्ता पाउन माग गर्नु भएकोमा मैले सोही मूल्यमा नै फिर्ता गर्न इन्कार गरेपछि निज कैलाशप्रसाद सिरोहियाले मसँग आर्थिक रूपमा सौदावाजी गर्दै निजले भनेबमोजिम नभएमा मलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिनुभएको थियो।

 

 

सोपश्चात निजले आफ्नो कान्तिपुर पब्लिकेसन्सअन्तर्गतका कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट अंग्रेजी दैनिक र नेपाल साप्ताहिक र कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरको माध्ययमबाट म, मेरा परिवार तथा मेरा कम्पनीहरूको विरुद्धमा विभिन्न किसिमले कपोलकल्पित आधारहीन समाचार संप्रेषण गर्न थाल्नुभयो।

 

 

त्यसरी मेरो व्यावसायिक जीवनमा ठेस पुर्‍याउने, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा मेरो मान प्रतिष्ठामा आँच आउने गरी मलाई बदनाम गराउने कार्यमा उद्यत रही झूठा एवं भ्रामक समाचारहरू प्रकाशन गरी पत्रिकामा निरन्तर छाप्न थाल्नु भयो।     

 

 

यसरी पटक पटक गरी हालसम्म दशौँ पटकसम्म म, मेरो परिवार तथा मेरा व्यावसायिक संस्थाहरूका विरुद्ध झूठा समाचारहरू प्रकाशन गर्दै मलाई मानसिक रूपमा प्रताडित गर्दै आतंकित गर्दै आउनुभएको छ।

 

 

यसरी छापामार्फत् आतंकित गर्ने क्रमको शृंखला स्वरूप मिति २०७४ साल पौष ९ गते कान्तिपुर दैनिकमा ‘सुमार्गीको २२ अर्ब अवैध’ भन्ने शीर्षकमा झूठा एवं आधारहीन मनगढन्ते समाचार संप्रेषण गर्दै जनमानसमा मप्रति नकारात्मक प्रभाव पार्ने तथा भ्रम फैलाउने प्रयत्न गरिएको छ।

 

 

 

यसैक्रममा निजले म तथा मेरा परिवारमाथि भौतिक रूपमा सांघातिक हमलासमेत गर्न/गराउन सक्ने आशंका रहेको हुँदा म तथा मेरो परिवारसमेतको जीउधन र मेरा व्यापार व्यवसायमा समेत शान्ति सुरक्षा कायम गरी पाउन अनुरोध गर्दछु। विषयको गाम्भीर्यलाई मध्यनजर गर्दै यस निवेदन उपर यथाशीघ्र कारवाही अघि बढाइ पाउनसमेत अनुरोध गर्दछु।

 

 

 

संलग्न कागजातहरू  

 

 

    क.    मिति २०७०।३।१६ मा जग्गा खरिद गरी लिएको तमसुकको प्रतिलिपि।

 

 

    ख.   मिति २०७१।१०।२१ गते देखि २०७४।९।१० सम्म कान्तिपुर पब्लिकेसन्सअन्तर्गत प्रकाशित समाचारको कटिङको प्रतिलिपि नौ थान।                

 

निवेदक

 

अजेयराज सुमार्गी पराजुली अध्यक्ष मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.