साढे ३३ किलो सुन तस्करी प्रकरणमा श्यामकृष्ण श्रेष्ठविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा दायर

साढे ३३ किलो सुन तस्करी प्रकरणमा श्यामकृष्ण श्रेष्ठविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा दायर


काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साढे ३३ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठविरूद्ध १४ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ।

मंगलबार विशेष अदालतमा मुद्दा दायर गर्दै अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय, काठमाडौंबाट अवैध रुपम साढे ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धान कारबाहीको सिलसिलामा निलम्बनमा रहेका श्रेष्ठसँग सो सम्पत्ति रहेको जनाएको छ।

उनीविरूद्ध १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ भ्रष्टाचार गरी राष्ट्रलाई हानी नोक्सानी र्पुयाएको भन्दै मुद्दा दायर गरेको प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारले जनाएको छ। तस्करीको साढे ३३ किलो सुन प्रकरणमा मुछिएपछि उनीमाथि अख्तियारले छानबिन गरेको थियो।

अख्तियारका अनुसार उनको वैधानिक आय जम्मा ९ करोड ६३ लाख ८ हजार ८ सय २७ रूपैयाँ छ। तर उनले विभिन्न ठाउँमा गरेको लगानी र खर्च जोड्दा उनको सम्पत्ति १९ करोड ७४ लाख ५५ हजार ८ हजार १६ रूपैयाँ देखिएको थियो। वैधानिक रकम घटाउँदा उनको स्रोत नखुलेको सम्पत्ति १० करोड ११ लाख हुन्छ।

तर अख्तियारले भने स्रोत नखुलेको सम्पत्तिबाट ४ करोड बढीबढाउ रकमलाई पनि स्रोत नखुलेको भन्दै १४ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको हो। श्रेष्ठले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा पर्न गएको उजुरीका सम्वन्धमा आयोगबाट गरिएको अनुसन्धानबाट श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरे पश्चातको समग्र आय व्ययको विश्लेषण गर्दा १४ करोड भन्दा बढी रकम गैरकानुनी तरिकाले आर्जन गरिएको देखिएको आयोगले जनाएको छ।