उमेरहद विवाद चर्किएपछि अखिल क्रान्तिकारीको बन्दसत्र स्थगन

उमेरहद विवाद चर्किएपछि अखिल क्रान्तिकारीको बन्दसत्र स्थगन


काठमाण्डु – उमेरहद विवाद चरमोत्कर्षमा पुगेपछि नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र स्थगन गरिएको छ । बन्दसत्र असोज १६ गते आजका लागि लाई स्थगन गरिएको अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुनः सञ्चालन गरिने अध्यक्ष मण्डलले जनाएको छ ।

क्रान्तिकारीको सम्मेलन असोज १० गते उद्घाटन भएको थियो । संगठनमा उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद भएपछि बन्दसत्र स्थगत गर्नपर्ने अवस्थामा पुगेको हो ।

उमेरहदकै विवादका कारण सम्मेलनमा कुर्सी हानाहानसमेत भएपछि विवाद टुंग्याउन माओवादीले उपमहासचिव शक्ति बस्नेतलाई जिम्मेवारी दिए पनि मिल्न सकेको छैन ।

बस्नेतले मंगलबार बागबजारमा रहेको होटल हार्दिकमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्षहरू हिमाल शर्मा, रमेश मल्ल, नरेन्द्र न्यौपाने र वर्तमान अध्यक्ष पञ्चा सिंहसहित छलफल गरे पनि निष्कर्ष निक्लन सकेन ।

क्रान्तिकारीमा अध्यक्षलगायतका प्रत्यासी रहेका विद्यार्थी नेता उमेरहदका पक्षमा नदेखिएपछि विवाद बढेको छ । उमेरहद लगाउँदा उनीहरू सबै बाहिरिने र नयाँले अवसर पाउने स्थिति भएपछि उनीहरूले विवाद निकालिरहेका छन् । तर, तल्लो तहका प्रतिनिधि उमेरहद लागू गर्नुपर्ने पक्षमा देखिएका छन्।