काठमाडौँमा अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक बस्दै, काे बन्ला नयाँ अध्यक्ष ?

काठमाडौँमा अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक बस्दै, काे बन्ला नयाँ अध्यक्ष ?


काठमाडौँ– अनेरास्ववियुको केन्द्रीय कमिटीको बैठक आगामी जेठ ४ र ५ गते काठमाडौँमा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा जेठ ४ गते उद्घाटन गर्ने भनिएको उक्त बैठकले अध्यक्ष नवीना लामालाई बिदाई तथा नयाँ नेतृत्व छनोट गर्नेछ ।

मुलुकको विकास र समृद्धिका लागि अबको विद्यार्थी आन्दोलनको कार्यदिशा तथा भावी रणनीतिकाबारे समेत बैठकमा छलफल गरिनेछ ।संगठनका अध्यक्ष लामा प्रतिनिधिसभा सदस्यमा मनोनीत भएपछि दैनिक कार्यभारलाई व्यवस्थित गर्न सर्वसम्मतबाट नेतृत्वका लागि आवश्यक छलफल गर्न जेठ ५ गते ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा छलफलका लागि व्यवस्था गरिएको छ ।

बैठकबाट आउने नयाँ नेतृत्वले अखिल क्रान्तिकारीसँग एकता गरेपछि नयाँ राष्ट्रिय सम्मेलन गर्नेछ । करीब दुई वर्ष अगाडि हुन लागेको संगठनको सम्मेलन नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनमा स्थगित गरिएको थियो । त्यसपछि पनि पार्टीको स्थायी समितिको बैठक, स्थानीय तहको निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण पनि सम्मेलन हुन नसकेका कारण संगठनले नयाँ नेतृत्व लामो समयदेखि पाउन सकेको छैन ।

संगठनको अध्यक्ष पदका लागि हाल उपाध्यक्ष तथा महासचिवको जिम्मेवारीमा रहेका पदाधिकारीबाट सर्वसम्मत गर्न विद्यार्थी नेताले प्रयास गरिरहेको सचिव आरसी लामिछानेले जानकारी दिए । सहमति हुन नसकेमा निर्वाचनको प्रक्रियाबाट पनि नेतृत्व चयन गरिनेछ ।

अध्यक्ष पदका लागि संगठनका उपाध्यक्ष महेश वर्तौला, रश्मी आचार्य, शैलेश लामा र सुनिता बराल तथा महासचिव ऐन महरको प्रतिस्पर्धा छ । त्यस्तै, महासचिव पदमा हालका सचिव लामिछानेका साथै विद्यार्थी नेताहरु आरती लामा, सुदेश पराजुली र समिक बडालको प्रतिस्पर्धा छ ।