काठमाण्डु– पक्राउ परेका पुष्पा स्टारर अल्लु अर्जुन रिहा भएका छन् । गत हप्ता उनको फिल्म पुष्पा २ः द रुलको प्रदर्शनको क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि उनलाई शुक्रबार पक्राउ गरिएको थियो ।
हिजो हिरासतमा बसेका अल्लु तेलंगाना उच्च अदालतबाट जमानत पाएपछि आज बिहानै रिहा भएका हुन्। यस क्रममा उनले आफ्ना फ्यानहरूलाई उनीहरूको चिन्ताको लागि धन्यवाद पनि दिएका छन् ।
एक्समा शेयर गरिएको भिडियोमा स्नेहा रेड्डी घरबाहिर पति अर्जुनलाई पर्खिरहेको देख्न सकिन्छ। यस क्रममा उनीहरुका छोराछोरी पनि सँगै देखिएका छन् ।
चंचलगुडा सेन्ट्रल जेलबाट बाहिर आएपछि अल्लु अर्जुनले आफ्ना फ्यानहरूको माया र समर्थनका लागि धन्यवाद दिएका छन्। तेलंगाना उच्च अदालतले अल्लु अर्जुनलाई शुक्रबार अन्तरिम जमानत दिएको थियो। उनलाइ ५० हजार धरौंटीमा ४ हप्ताका लागि जमानत दिइएको छ ।
तर उच्च अदालतबाट राहत पाए पनि जेल प्रशासनले शुक्रबार राति अबेरसम्म जमानतको पत्र नपाउँदा अल्लु अर्जुनले शुक्रबारको रात भने हिरासतमा बिताउनु परेको थियो ।
प्रतिक्रिया