आज विश्व अल्जाइमर्स दिवस, २०३० सम्म नेपालमा यसको संख्या दोब्बर हुने अनुमान

आज विश्व अल्जाइमर्स दिवस, २०३० सम्म नेपालमा यसको संख्या दोब्बर हुने अनुमान


काठमाण्डु-आज विश्व अल्जाइमर्स दिवस नेपालसहित विश्वभर मनाइँदैछ । ‘डिमेन्सिया र अल्जाइमर्सलाई जानौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो मनाईंदै छ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा विभिन्न चेतनामूलक कार्यक्रम गरी अल्जाइमर्स दिवस मनाउने गरिन्छ ।

अल्जाइमर्स रोगको एक प्रमुख कारण डिमेन्सिया हो । जसलाई हामी बिर्सिने रोग भनेर पनि बुझ्ने गर्छौँ । बुढेसकालमा धेरैलाई सताउने अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । नेपालमा अल्जाइमर्सका बिरामीको यकिन तथ्याङ्क नभए पनि जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यो रोगका बिरामी पहिचान हुने क्रम भने बढ्दो छ ।

नेपालमा झन्डै १० वर्षअघि ७८ हजार मानिस बिर्सिने समस्याबाट ग्रसित रहेकोमा सन् २०३० सम्म यो सङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ । बिर्सने समस्याले अस्पताल पुगेर जाँच गर्नेमध्ये ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिन्छ । विभिन्न अध्ययनले देखाएअनुसार जेनेटिक्सका साथै धूमपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह र टाउकोमा पटकपटक लागेका चोटले बुढ्यौलीसँगै अल्जाइमर्स रोग लाग्न सक्ने जोखिम बढ्दो छ । तर रोगको बारेमा जानकारी नहुँदा बिरामी ढिला गरी अस्पताल पुग्ने गरेकोले उपचार गर्न कठिनाइ पर्ने गरेको डाक्टरहरु बताउँछन् ।

कस्तो रोग हो अल्जाइमर्स ?

अल्जाइमर्स दीर्घरोग हो, जसले मष्तिष्कमा बिस्तारै क्षय गराउँछ । यसबाट बिरामीमा स्मरण शक्तिका साथसाथै सोच्ने क्षमता, अरू काममा समस्या आउने गर्छ । अल्जाइमर्स रोगले सोचाइ, स्मरण शक्ति र भाषा नियन्त्रण गर्ने मतिष्कका भागमा असर पु¥याउँछ र व्यक्तिलाई दैनिक गतिविधि गर्न असक्षम बनाउँछ ।

मुख्य लक्षण नै बिर्सने समस्या भएकाले मानिसको दैनिक दिनचर्यामा नै बाधा हुन्छ । यो रोग लागिसकेपछि पूर्ण रूपमा निको पार्न पनि सकिँदैन । त्यसैले हरेक कुरामा परिवारका सदस्य र आफन्तको नै भर पर्नुपर्छ । अझ त्यसमाथि अरू पनि दीर्घ रोग छन् भने त अझ बढी निगरानी गर्नुपर्ने हुन्छ ।

अल्जाइमर्स रोग लागेका नागरिकको उपचारका लागि नेपाल सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रममा सूचीकृत अस्पतालमार्फत १ लाख रुपैयाँ बराबरको सेवा निःशुल्क लिन सकिने व्यवस्था गरेको छ ।

अल्जाइमर्स रोगका लक्षण

–मिति, समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु

–बारम्बार एउटै कुरा सोधिरहनु

–नियमित गरिरहने कार्य गर्न अप्ठ्यारो हुनु

–स्वविवेक शक्ति क्षीण हुनु

–देखेका कुराहरु नचिन्नु

–आफूले राखेका सामान फेला पार्न नसक्नु

–सामान्य समस्या समाधान गर्न नसक्नु