को हुन् एमालेले महानगरको ‘बागडोर’ हाँक्न टिकट दिएका ५ उम्मेदवार ?

को हुन् एमालेले महानगरको ‘बागडोर’ हाँक्न टिकट दिएका ५ उम्मेदवार ?


काठमाण्डु – नेकपा एमालेले ५ महानगर र ९ उप महानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले सत्ता गठबन्धन दलसँग यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्न ५ महानगर प्रमुख र ९ उपप्रमुखको टुंगो लगाएको हो ।

बैठकले काठमाण्डु महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ ।

यता, पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल, भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी र वीरगञ्ज महानगरको मेयरमा विजय सारवगीलाई उम्मेदवार बनाइएको छ । तर, एमालेले विराटनगर महानगरपालिकाको मेयर भने टुंगो लगाउन सकेको छैन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनसँग एमालेले एक्लै प्रतिस्पर्धा गर्दैछ ।

सत्ता साझेदार पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेसँगै एमालेलाई आफ्नो बिरासत जोगाउन चुनौती थपिएको छ । यस्तो अवस्थामा एमालेले उठाएका उम्मेदवारहरुले गठबनधनसँगको चुनौती तोड्न सक्लान् ? यो निकै चासोको विषय बनेको छ ।

काे हुन् उनीहरू ?

१ केशव स्थापित

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट स्थापित काठमाण्डुका पूर्व मेयर समेत हुन् । बागमति प्रदेशको भौतिक पूर्वाधारमन्त्री समेत रहेका स्थापितले ०५४ सालमा भएको स्थानीय निर्वाचनमा विजयी भई काठमाण्डु महानगरको बागडोर सम्हालिसकेका छन् ।

अहिले उनी बागमती प्रदेशसभा सदस्य छन् । अध्यक्ष ओली ०४७ सालमा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष रहेका बेला स्थापित महासचिव थिए ।

ओलीपछि स्थापित नै युवा संघको दोस्रो अध्यक्ष बनेका थिए । युवा संघको अध्यक्ष भएकै बेला ०५१ सालमा उनी राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव बने । सदस्यसचिव भएका बेला खेलकुद पूर्वाधार विकासमा भूमिका खेलेको भन्दै अहिले पनि उनलाई स्मरण गर्ने गरिन्छ ।
खेलकुदबाट राम्रो छवि बनाउनुको फाइदा स्थापितलाई २०५४ सालमा भयो। त्यसबेला भएको स्थानीय निर्वाचनमा उनले मेयरको टिकट पाए र निर्वाचित भए ।

स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’ भन्ने नारा ल्याएका थिए । उनी मेयर भएकै बेला पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँका अव्यवस्थित घर–टहरा भत्काइयो । ती ठाउँलाई सर्वसाधारणका लागि खुला गरिएपछि उनी ‘विकास प्रेमी’ मेयरका रुपमा चिनिन थाले । यस्तै उनले कालिमाटी–कुलेश्वर सडकखण्ड विस्तारमा पनि अग्रसरता देखाएका थिए ।

मेयरबाट राजनीतिक छवि बनाएका स्थापितले त्यसयता पटक पटक राजनीतिक धार परिवर्तन गरे । अनेक राजनीति फेरबदलबीच ओलीले स्थापितलाई एमालेमा फर्काउँदै २०७४ मै काठमाण्डुको मेयरमा उठाउन चाहेका थिए । तर, काठमाण्डु एमालेका तत्कालीन अध्यक्षलगायत नेताहरुले विरोध गरेपछि ओली पछि हटे र स्थापितले विद्यासुन्दर शाक्यलाई काँधमा बोके ।

मेयर नबने पनि स्थापित काठमाण्डु प्रदेश ३ मा टिकट लिएर चुनाव लडे, जिते पनि । त्यसपछि स्थापित बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री भए । तर मुख्यमन्त्री डोरमणि पौडेलसँग भनाभन र विवाद बढेपछि बर्खास्तीमा परे ।

२ हरिकृष्ण व्यञ्जनकार

एमालेले ललितपुर महानगर प्रमुखका लागि उतारेका मेयर उम्मेदवार व्यञ्जनकार नेपालका बैंकका पूर्वकार्यालय सहायक हुन् । उनी बैंकको जागिर छोडेर राजनीतिमा होमिएका थिए । २०३३ सालदेखि ०४३ सम्म नेपाल बैंकको जागिर खाएका उनले तत्कालीन ललितपुर नगरपालिका वडा नम्बर ९ को अध्यक्ष लड्न पदबाट राजीनामा दिएका थिए । जागिरअवधिमै उनले राजनीति थालेका हुन् । आफूले २०३५ सालबाट विद्यार्थी राजनीति सुरु गरेको उनी बताउँछन् ।

व्यञ्जनकार व्यवस्थापन संकायमा स्नातकोत्तर हुन् । ०३३ सालतिर उनले म्यानेजमेन्ट पढ्न कीर्तिपुरस्थित क्याम्पसमा प्रवेश परीक्षा दिए । तर, वैकल्पिकमा नाम निस्क्यो । त्यसपछि उनले बिराटनगरमा डिग्री अध्ययन गरे । उनी ललितपुरको च्यासलमा २०१२ सालमा जन्मेका हुन् । विराटनगरमा डिग्री सकेर ०३८ सालमा काठमाण्डु फर्केका उनले ०४३ सालमा वडाअध्यक्ष लड्न जागिर छोडेका थिए । र, त्यो बेला सर्वाधिक मतसहित विजयी पनि भए ।

०४६ सालको ञ्चायतविरोधी आन्दोलनमा उनकोप सक्रिय सहभागिता थियो । ०४९ सालमा उनी एमाले ललितपुर नगर कमिटी सचिव भए । त्यसपछि उनले जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए । ०६६ सालमा ललितपुर जिल्ला उपाध्यक्ष भए । २०७० सालमा एमाले हाइकमाण्डले हरिकृष्णलाई ललितपुरको पार्टी अध्यक्ष बनायो । ०७८ मा पार्टीको केन्द्रीय सदस्य बनेका हरिकृष्ण एक्ला व्यक्ति हुन्, जो ललितपुर अध्यक्षबाट सिधै केन्द्रीय समितिमा पुगे । २८ माग ०७८ मा उनले जिल्ला अध्यक्ष छोडेका थिए ।

०७४ सालको स्थानीय चुनावमा उनी ललितपुर महानगरपालिकाको मेयर उठेका थिए । तर, अन्तिम नतिजामा मत कांग्रेसका चिरिबाबु महर्जनभन्दा ३ सय २६ कम आयो । उनी हारे । त्यसपछि षड्यन्त्रपूर्वक आफूलाई हराइएको भन्दै उनी उच्च हुँदै सर्वाेच्च अदालतसम्म पुगे । तर, अदालतले यो मुद्दालाई प्राथमिकतामा राखेन । र, अझै विचाराधीन छ

३ दिपक पौडेल

एमालेको गण्डकी प्रदेश कमिटी सदस्य रहेका पौडेल अवकाश प्राप्त शिक्षक हुन् । उनी लामो समयदेखि शिक्षक आन्दोलनमा आबद्ध थिए । पोखरा महानरपालिका १९ पुरनचौरका पौडेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् ।

४ विजय सुवेदी

एमाले नेतृत्वले भरतपुर महानगरमा सत्ता गठबन्धनसँगको चुनौती तोड्न सुवेदीलाई मेयरको टिकट दिने निर्णय गरेको छ । भरतपुर महानगरको मेयर निर्वाचित भएर देशकै नमूना शहर बनाउने अभिभारा एमालेले सुवेदीलाई सुम्पेको छ ।

२०२० साल चैत ५ गते क्याकमी–४, चाङसिङ, स्याङ्जामा जन्मिएका सुवेदी एमाले चितवनका तीन पटक पार्टी नेतृत्व हाक्नुका साथै वाग्मती प्रदेशका पूर्वमन्त्री पनि हुन् । स्याङजामा जन्मिएर, पाल्पा हुँदै चितवनसम्म आइपुग्दा उनले राजनीतिमा धेरै जिम्मेवारी बहन गरिसकेका छन् ।

२०३६ सालमा रामपुर पाल्पामा रहँदा कम्युनिस्ट पार्टीको सम्पर्कमा आएका सुवेदीले सोही वर्ष पाल्पामा तत्कालिन नेकपा (माले) निकट युवा लिगको सदस्य भए । सोही वर्ष अनेरास्ववियू जिल्ला कमिटी पाल्पाको सदस्य बने । पाल्पाबाट चितवन आएका उनी २०३९ सालमा अनेरास्ववियू चितवनको कोषाध्यक्ष भए ।

लगत्तै २०४० सालमा अनेरास्ववियू चितवनको सचिवको जिम्मेवारी लिए । कोषाध्यक्ष र सचिव पदमा जिम्मेवारीपूर्ण तरिकाले संगठन सञ्चालन गरेका उनको भूमिकाले उनलाई लगातार अनेरास्ववियूको तीन कार्यकाल अध्यक्ष सम्हाल्ने जिम्मेवारी आयो । २०४१, २०४२ र २०४५ सालमा अनेरास्ववियू चितवनको अध्यक्ष भएर संगठनलाई हाके ।

त्यस्तै उनी २०४५ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च चितवनको अध्यक्ष भए । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ चितवनको संस्थापक अध्यक्ष बने । २०४१ देखि २०४३ सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू सचिव भएर काम गरे । २०२८ सालबाट बालकुमारी मावि नारायणगढ र २०३८ सालबाट वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा अध्ययन गरेका सुवेदीले बीचमा केही समय पाल्पामा विद्यालय शिक्षा हासिल गरे ।

सांसद सुवेदीले त्रिविबाट अर्थशास्त्र र इतिहासमा स्नातक र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौंद्धशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी २०४७ सालमा एमाले चितवनको सचिवालय सदस्य भए । तत्कालिन अवस्थामा नेतृत्वको भूमिका खेल्ने सचिव पद उनले २०४९ सालबाटै सम्हाले । नेकपा एमाले चितवनको २०४९–२०५०, २०६१–०६४ र २०६४–०६६ गरी तीन कार्यकाल सचिव बने ।

यो बीचमा २०५५ देखि २०५९ सालसम्म राष्ट्रिय परिषद् सदस्य भएर पार्टीको जिम्मेवारी सल्हाले । २०६७ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएर पनि उनले पार्टीको कामलाई निरन्तरता दिए । अहिले नेकपा एमाले चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट वाग्मती प्रदेशका सांसद बन्दै भरतपुर महानगरको मेयरको उम्मेदवार बनेका सुवेदीले राजनीतिमा पार्टीले दिएको जिम्मेवारी सधैं सफलतापूर्वक सम्पन्न गरेका छन् ।

५ विजय सारवगी
यसअघि ०७४ को निर्वाचनमा उनी संघीय समाजवादी फोरम नेपालबाट बीरगञ्ज महानगरको प्रमुख निर्वाचत भएका थिए । हाल उनी पराजनीतिक धार परिवर्तन गर्दै नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनी एमालेमा प्रवेश गरेलगत्तै उनलाई पार्टीले उपहारस्वरुप मेयरको उम्मेदवार बनाउँने निर्णय गरेको छ ।