६ महिनादेखि कार्यक्षेत्रमा गएनन् राजदूत, रायमाझीलाई पठाउन उपप्रधानमन्त्री लबिङमा

६ महिनादेखि कार्यक्षेत्रमा गएनन् राजदूत, रायमाझीलाई पठाउन उपप्रधानमन्त्री लबिङमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनका लागि नेपाली राजदूत नियुक्त भएका भरतबहादुर रायमाझी ६ महिनासम्म पनि कार्यक्षेत्र गएका छैनन् । सेनाका पूर्वसहायकरथीसमेत रहेका उनी राप्रपाको कोटाबाट राजदूत सिफारिसमा परेका थिए ।

 

 

स्पेनमा अहिले दूतावाससमेत छैन । परराष्ट्रका दुईजना कर्मचारी त्यहाँ पुगेका छन् । राप्रपाकै सिफारिसमा सँगै राजदूत भएका प्रतिभा राणा र निरञ्जन थापा क्रमश : जापान तथा इजरायल गएर कार्यभार सम्हालिसकेका छन् ।

 

 

 

रायमाझीलाई पठाउन कमल थापाको लबिङ

 

अहिले राप्रपा अध्यक्ष कमल थापाले उनलाई स्पेन पठाउन प्रधानमन्त्रीलाई आग्रह गरिरहेका छन् । रायमाझी राप्रपाका केन्द्रीय सदस्य तथा नाताले थापाका सम्धी पनि हुन् ।

 

 

एक मन्त्रीका अनुसार गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री थापाले राजदूत रायमाझीलाई तत्काल स्पेन पठाउने व्यवस्था मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । बैठकमा प्रधानमन्त्रीले त्यसबारे परराष्ट्रसचिवसँग कुरा गर्ने आश्वासन दिएका थिए ।

 

 

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बिहीबार मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रसचिव शंकरदास बैरागीसँग प्रधानमन्त्रीले चासो व्यक्त गरेका थिए । राजदूत रायमाझीले भने औपचारिक रूपमा धेरै बोल्न चाहेनन् । उनले भने, ‘म यतै (काठमाडौं)मै छु, कार्यक्षेत्र गएको छैन । परराष्ट्र मन्त्रालय गइरहेको छु ।’

 

 

६ महिनासम्म अन्योल 

 

नेपाल र स्पेनबीच ३१ वैशाख ०२५ मा कूटनीतिक समबन्ध स्थापना भएको थियो । सरकारले निर्णय गरे पनि हालसम्म स्पेनमा राजदूतावास स्थापना भइसकेको छैन । त्यहाँ दूतावास भवन, निजी आवासलगायतको बन्दोबस्त पनि छैन ।

 

 

परराष्ट्र स्रोतका अनुसार रायमाझीले स्पेनको हवाई टिकट र दूतावास स्थापना गर्न आवश्यक बजेटको बन्दोबस्त गर्न आग्रह गर्दै आएका छन् । ‘राप्रपाको सत्तारोहण र सत्तागमनका कारण उहाँ स्पेन जाने विषय पनि अन्योलमा पर्दै आयो, ६ महिनासम्म जाने अवस्था भएन,’ परराष्ट्रका एक अधिकारीले नाम नछाप्ने सर्तमा नयाँ पत्रिकासँग भने, ‘नयाँ मतादेशपछि उहाँको पार्टी (राप्रपा) नै अस्तित्वमा आएन, अब उहाँ नजाँदै राम्रो हुन्छ भन्ने हाम्रो सुझाब छ । त्यही कारण उहाँलाई अहिले पठाउने अवस्थामा हामी छैनौँ ।’ वामपन्थी गठबन्धनको सरकार गठन भएको अवस्थामा कांग्रेस, राप्रपा तथा तत्कालीन फोरम लोकतान्त्रिकको कोटाबाट राजदूत भएकालाई फिर्ता बोलाउने अनुमानका आधारमा रायमाझी नजाँदा उपयुक्त हुने परराष्ट्रका अधिकारीको धारणा छ ।

 

पोर्चुगलमा सुझाब, स्पेनमा नियुक्ति

 

स्पेनमा भन्दा छिमेकी मुलुक पोर्चुगलमा राजदूतावास स्थापना गर्न परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले सुझाब दिएका थिए । पोर्चुगलमा १५ हजारभन्दा बढी नेपाली छन् । स्पेन र पोर्चुगलबीच राम्रो सम्बन्ध नभएका कारण स्पेनका लागि राजदूतलाई पोर्चुगलले गैरआवासीय राजदूतका लागि सहप्रमाणीकरण गर्दैन ।

 

 

तर, सत्तारूढ राप्रपाको दबाबमा तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले स्पेनमा दूतावास खोल्ने र रायमाझीलाई राजदूत सिफारिस गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । रायमाझी प्रचण्ड नेतृत्वको सरकारका पालामा राजदूत सिफारिस भएका थिए भने शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा राजदूत नियुक्त भएका थिए । आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।