इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण

इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण


वासिङटन – इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमान्डले जनाएको छ ।

पश्चिमी इराकमा इरान समर्थित लडाकुले अल असद शिविरलाई लक्षित गरी धेरै ब्यालेस्टिक क्षेप्यास्त्र र रकेट प्रहार गरेका सेन्टकमले उल्लेख गरेको छ ।

अधिकांश क्षेप्यास्त्र शिविरको हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो । तर, ‘अन्य केही शिविरमा खस्दा’ केही अमेरिकी ‘कर्मचारी’लाई चोट लागेको बताइएको छ ।

अमेरिकी केन्द्रीय कमान्डद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “धेरै अमेरिकी कर्मचारीलाई चोटपटक लागेको हुन सक्ने अनुमानपछि उनीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । घटनामा कम्तीमा एकजना इराकी सैनिक घाइते भएका छन् ।”

गएको अक्टोबरको मध्यदेखि इराक र सिरियामा इस्लामिक स्टेट समूहका जिहादीविरुद्ध लड्न तैनाथ अमेरिकी तथा गठबन्धन सेनामाथि दर्जनौँ आक्रमण भएका छन् ।

गाजा द्वन्द्वमा इजरायललाई अमेरिकी समर्थनको विरोध गर्ने इरानसम्बद्ध सशस्त्र समूहहरूको खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ले अधिकांश आक्रमणको दाबी गरेको छ । उक्त समूहले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमण गरेको जनाएको छ ।

ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगले इराक र सिरियामा अमेरिकी सेनामाथिको आक्रमणमा वृद्धि भएको संकेत गरेको छ, जसलाई पहिले कम प्रविधिको रकेट र ड्रोनले निसाना बनाइएको थियो ।

गएको अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला शनिबारको हवाई आक्रमण भएको हो । इरानको दमास्कसमा शनिबार भएको आक्रमणमा त्यहाँको इस्लामिक रिभोल्युसनरी गार्ड कोरका पाँच सदस्यको पनि मृत्यु भएको थियो ।

गत सोमबार साँझ इरानले उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा यहुदी शासन (मोसाद)का गुप्तचरले प्रयोग गरेको स्थललाई लक्षित गरी घातक आक्रमण गरेको थियो ।

वासिङटनले कैयौँपटक आक्रमण गरेको छ, यो उसले थप वा जारी आक्रमण रोक्नका निम्ति भएको जनाएको छ । पेन्टागनका अनुसार अक्टोबरको अन्त्यदेखि यसअघिका आक्रमणमा दर्जनौँ अमेरिकी सैनिक सामान्य घाइते भएका छन् । इराकमा करिब दुई हजार ५०० र सिरियामा करिब ९०० अमेरिकी सैनिक तैनाथ छन् ।