अमेरिकामा कोरोना भाइरसले लियो एक जनाको ज्यान

अमेरिकामा कोरोना भाइरसले लियो एक जनाको ज्यान


एजेन्सी – चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस अब विश्वव्यापी भएको छ । यसको संक्रमणबाट अमेरिकामा पनि पहिलो पटक एक जनाको ज्यान गएको छ ।

करिब ५० वर्षको उमेरको आसपासमा रहेका उक्त व्यक्तिको कोरोनाभाइरसबाट मृत्यु भएको अधिकारीहरुले बताएका छन् । ती व्यक्ति यो भन्दा अगाडि कोरोनाभाइरस प्रभावित क्षेत्रको भ्रमण नगरेको भएपनि यसको संक्रमणबाट मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

उक्त व्यक्ति वासिङ्टनको किङ्ग काउन्टीका हुन् । यसअघि, क्यालिफोर्निया, ओरेगनमा पनि कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्ता क्षेत्रको यात्रा गरेर आएकाहरुसँग सम्पर्क नरहेकामा पनि यस भाइरसको संक्रमण देखिएको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका थिए ।

भाइरसको संक्रमण फैलन नदिन वासिङ्टनका गर्भनर जे इन्सलेले राज्यमा आपतकालिन अवस्थाको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका संक्रमणका थप बिरामीहरु देखापर्ने सम्भावना रहेकाले यसका लागि अमेरिका तयार रहेको दाबी गरेका छन् ।

अधिकारीहरुले इरान यात्रामा थप कडाइ गर्ने जनाउँदै अमेरिकीहरुलाई इटाली र दक्षिण कोरियाका कोरोनाभइरसबाट प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म ५७ देशहरुमा ८५ हजारभन्दा बढी यस भाइरसका संक्रमित फेला परेको जनाएको छ । विश्वभरी गरेर यो संक्रमणबाट ज्यान गुमाउनको संख्या ३ हजारभन्दा बढी भइरकेको संगठनले जनाएको छ । मृत्यु हुनेमा ठूलो र अधिकांश संख्या चीनम रहेको छ ।