अमेरिकाको डढेलो : मृतकको संख्या २४ पुग्यो, २७० अर्ब डलर बराबरको क्षति

अमेरिकाको डढेलो : मृतकको संख्या २४ पुग्यो, २७० अर्ब डलर बराबरको क्षति


काठमाण्डु- अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

केही दिन हावाको गति केही कम भए पनि पुनः तीव्र गतिमा हावा चलिरहेको छ । प्रतिघण्टा ६० माइलको दरले हावा चलिरहेको छ । जसका कारण डढेलो धेरै भूभागमा फैरिहेको रहेको छ ।

लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको संख्या २४ पुगेको पुष्टि गरेका छन् । आगलागीका कारण इटन क्षेत्रमा ११ र पालिसेड्स क्षेत्रमा ५ जनाको मृत्यु भएको छ । आगलागीमा १६ जना बेपत्ता भएको जनाइएको छ ।

लस एन्जलस क्षेत्रमा अहिले चारवटा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ । सबैभन्दा बढी क्षति पालिसेड्स क्षेत्रमा भएको छ जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ ।

आइतबार एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमानलाई बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुगेको जनाएको छ । डढेलो ४० हजार एकड भन्दा धेरै क्षेत्रमा फैलिएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।

हालसम्म सयौँ घर र गाडीहरू जलेका छन् । एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् । हावाहुरीले रुखहरू ढलेका छन् । लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन् । वायुको गुणस्तर निकै प्रदूषित रहेको अधिकारीहरूले बताएका छन् । खरानीका सूक्ष्म कण र धुवाँले आकाश ढाकिएको छ । प्रशासनले मृतकको संख्या अझै बढ्नसक्ने जनाएको छ ।