काठमाडौं– अमेरिकाले साउदी अरेबियामा सेना पठाउने भएको छ । साउदी र युएईको आग्रहमा अमेरिकाले सेना पठाउने तयारी गरेको हो । साउदी अरेबियाका २ ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भएपछि अमेरिकाले सेना पठाउने योजना बनाएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले खुलासा गरेका छन् ।
उनले रक्षात्मक प्रयोजनका लागि अमेरिकी सेनालाई साउदी अरेबिया पठाउने योजना बनाएको खुलासा गरेपनि कहिले र कतिको संख्यामा पठाउने तयारी भएको खुलाइएको छैन् ।
सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा गएको शनिबार १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएपछि अमेरिका र साउदी दुवैले इरानमाथी आरोप लगाएका थिए । तर, हमलाको जिम्मा भने यमनको हुथी बिद्रोहीले लिएको थियो । उक्त संगठनलाई इरानको समर्थन रहेको आरोप लाग्दै आएको छ । इरानले भने साउदी अरेबिया र अमेरिकाको आरोपलाई अस्वीकार गर्दै आएको छ ।
अमेरिकी सेनाले साउदी सेनासंग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने अमेरिकी रक्षामन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया