अमेरिकी राजदूत थम्पसनद्वारा पुस्तकालय उद्घाटन

अमेरिकी राजदूत थम्पसनद्वारा पुस्तकालय उद्घाटन


भक्तपुर – नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भक्तपुरको नागाँचामा आरपी फाउन्डेसनद्वारा सञ्चालित नेपाल भोकेसनल एकेडेमीमा पुस्तकालयको मंगलबार उद्घाटन गरेका छन् ।
करीब ५० वर्ष नेपालमा रहेर कला, सम्पदा र विभिन्न पक्षको अध्ययन गरेका अमेरिकी प्राध्यापक स्व. थियोडोर टेड रिकार्डीले संकलन गरेका ५ हजार पुस्तक सहितको पुस्तकालयको उनले मंगलबार उद्घाटन गरे ।
अमेरिकी दूतावासको सहयोगमा अमेरिका र अन्य क्षेत्रबाट नेपाली सोध–अनुसन्धान तथा एशियाली सन्दर्भ एव साहित्यिक–प्राज्ञिकलगायत विभिन्न कला, संस्कृति, वास्तुकला, सम्पदा सम्बन्धी अनुसन्धानमूलक पुस्तक तथा सोध सामग्री संकलन गरी पुस्तकालयमा राखिएका छन् ।
त्यस अवसरमा राजदूत थम्पसनले वर्षौंदेखिको अमेरिका र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई पुस्तकालयले थप स्मरणीय र मजबुत बनाएको बताए । उनले हजारौं वर्ष पुराना र महत्त्वपूर्ण पुस्तकले उचित स्थान पाएको र पुस्तकालय नेपालकै लागि महत्त्वपूर्ण रहेको धारणा राखे । ‘यो पुस्तकालय नयाँ पुस्तालाई इतिहासदेखि विभिन्न चरणका महत्त्वपूर्ण जानकारीबारे अध्ययन गर्न निकै उपलब्धिमूलक हुनेछ । यो नेपालकै लागि वरदान सावित हुने विश्वास लिएको छु,’ राजदूत थम्पसनले भने ।
कार्यक्रममा स्व. रिकार्डीकी श्रीमती कुनले आफ्नो श्रीमानको जीवनी र उनले नेपालमा गरेको सेवा र अध्ययनका बारेमा चर्चा गरे । अमेरिकामा रहेका पुस्तकहरू ल्याएर नेपालमा उनकै नाममा पुस्तकालय स्थापना गर्नु शौभाग्य भएको भन्दै कुनले आफ्नो नासो नेपालका लागि सुम्पेको बताए । उनले यहाँ राखिएका पुस्तक नेपाली र विदेशी नागरिकका लागि अध्ययन अध्यापनमा उपयोगी हुने बताए ।
कार्यक्रममा प्रा.डा. निर्मलमान तुलाधरले प्रा. टेडले नेपालमा विभिन्न धर्म, संस्कृति, नेवारी परम्परा, धार्मिक सम्प्रदायका बारेमा अध्ययन अनुसन्धान गरेर महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा गरे ।
आरपी फाउण्डेसनका प्रमुख रविन्द्र पुरीले सन् १९६८ मा पहिलो पटक फुलब्राइट कमिसनको आवासीय प्रमुख भएर काठमाण्डु आएका टेडले नेपाली सोध–अनुसन्धान तथा एशियाली सन्दर्भ र साहित्यिक–प्राज्ञिक कृतिको संकलन गरेका ५ हजारभन्दा बढी पुस्तक उनकी श्रीमतीको सहयोगमा पुस्तकालयमा राखिएको बताए । उनले एकेडेमीमा टेडकै नाममा ‘प्रोफेसर टेड रिकार्डी मेमोरियल रुम’ स्थापना गर्न पाउनु गर्वको विषय भएको उल्लेख गरे । लिच्छवीकालीन इतिहास, सभ्यता अन्वेषणका काम गरेर विज्ञता हासिल गरेका टेडले नेपालका विभिन्न सम्पदाको उत्खननमा योगदान दिएको पुरीले जानकारी दिए ।
कमलविनायक (नागांचा) मा रहेको एकेडेमीमा पुस्तकालय स्थापना गरी टेडकै सम्मानमा उनको अर्धकदको सालिक समेत राखिएको छ ।