काठमाण्डु – अखिल नेपाल फुटबल संघ (एन्फा)ले कार्यसमितिको बैठक बोलाएको छ । कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेसँगै एन्फाको १५औं कार्यसमितिको बैठक पुस २२ गतेलाई बोलाइएको हो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमिततिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै २२ पुस (बिहीबार) लाई बैठक आह्वान गरेका हुन् ।
१ पुसमा एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित उपाध्यक्ष वीर बहादुर खड्का, कृष्ण थापा र सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले लामो समय एन्फाको बैठक बस्न नसकेको र साधारणसभा जिल्ला लिग, राष्ट्रिय लिग सम्बन्धीत छलफल गर्न माग गर्दै बैठक माग गरेका थिए ।
एन्फाको विधानअनुसार यसरी कार्यसमिति सदस्यहरूबाट माग भएको १५ दिनभित्र बैठक बोलाइसक्नु पर्ने प्रावधान छ । जस अन्तर्गत २२ गते एन्फा मुख्यालयमा साठे १२ बजे बैठक बोलाइएको हो ।
प्रतिक्रिया