काठमाडौं– भारतीय अर्बपति अनिल अम्बार्नी जेल जानसक्ने भएका छन्।
उनको रिलायन्स कम्युनिकेशन्स (आरकम) र एउटा विशाल दूरसञ्चार कम्पनी एरिक्सनबीचको व्यापारिक सम्झौता भंग हुनपुगेपछि यस्तो सम्भावना बढेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
एरिक्सनले आरकमको नेटवर्क व्यवस्थापन र संचालन गर्ने उक्त सम्झौताको शर्त बमोजिम साढे पाँच अर्ब भारतीय रूपैया आरकमबाट भुक्तानी पाउन बाँकी छ।
गत वर्षको डिसेम्बर १५ तारिखसम्ममा आरकमले एरिक्सनलाई बक्यौता रकम तिरिसक्नु पर्ने भनी भारतको सर्वोच्च अदालतले दिएको आदेशलाई पालना गर्न आरकम असफल भएको छ।
अब अनिल अम्बानीले त्यस्तो रकम नतिरे उनलाई तीन महिनाको जेल सजाय हुने भारतको सर्वोच्च अदालतले बताएको छ।
उनलाई अदालतको आदेशको अवहेलना गरेको अभियोगमा दोषी ठहराउँदै उक्त रकम भुक्तानी गर्न अर्को चार हप्ताको समय दिइएको नत्र जेल जानु पर्ने भनिएको छ। यो विवादको दुवै पक्षले आफूहरूले अदालतको आदेशको सम्मान गर्ने बताएका छन्।
प्रतिक्रिया