व्यवस्थापन पक्ष र क्याबिन क्रुबीच सहमति, अन्तर्राष्ट्रिय उडान सुचारु

व्यवस्थापन पक्ष र क्याबिन क्रुबीच सहमति, अन्तर्राष्ट्रिय उडान सुचारु


काठमाण्डु–नेपाल वायुसेवा निगमका अवरुद्ध भएका अन्तर्राष्ट्रिय उडान सुचारु भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले क्याबिन क्रु (एयर होस्टेस)का मागमा व्यवस्थापन पक्षलाई सहमत गराएपछि अन्तर्राष्ट्रिय उडान सुचारु भएका हुन् ।

निगमको कर्मचारी विनियमावली संशोधन गरी ४५ वर्षको ठाउँमा ५० वर्ष उमेर हद कायम गर्नेलगायतका सहमति भएको छ । निगम व्यवस्थापनले तत्कालै नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा पठाउनेछ ।

वार्तामा मन्त्री बद्री पाण्डे, सचिव, निगम कार्यकारी अध्यक्षलगायत व्यवस्थापन पक्षका सबै र एयर होस्टेसका तर्फबाट अध्यक्ष प्रदा कार्की, प्रजिता कार्की, स्मिता गुभाजूलगायत सहभागी थिए ।

४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रुको आन्दोलनले वायुसेवा निगमको शुक्रबार रातिको दुबई उडान रद्द भएको थियो ।

निगमको आरए २२९ न्यरोबडी सगरमाथा जहाज शुक्रबार राति साढे तीन बजेसम्म क्याबिन क्रुको प्रतिक्षामा थियो । तर उडानका लागि खटाइएका परिचारिकाहरू सुबिना श्रेष्ठ, सुनिता थापा, रिना प्रजापती, दिलिसा श्रेष्ठ नआएपछि दुबई उडान रद्द गरिएको थयो ।

साढे ११ बजे उड्नु पर्ने जहाज राति साढे ३ बजे रद्द भएको घोषणा निगमले गरेको थियो । निगमले यात्रुलाई गौशाला र ज्ञानेश्वरका होटलमा आफनै खर्चमा राखेको छ ।

निगममा क्याबिन क्रुहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने, सेवा सुविधामा विभेद भएको भनी २०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए । उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ गतेदेखि उनीहरू पुनः आन्दोलनमा उत्रिएका छन् ।