राष्ट्रिय महिला फुटबल : सावित्राको १२ गोलको मद्दतमा एपीएफ विजयी

राष्ट्रिय महिला फुटबल : सावित्राको १२ गोलको मद्दतमा एपीएफ विजयी


काठमाण्डु – राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी छन् ।

भण्डारीको एक दर्जन गोलको मद्दतमा एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गर्यो ।ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एपीएफले लगातार छैटौँ जीत हात पारेको हो ।

एपीएफका लागि भण्डारीले मध्यान्तरअघिको खेलमा हाफमा पाँच तथा मध्यान्तरपछि सात गोल गरेकी हुन् । भण्डारीले खेलको पाँचौँ, ३२औँ, ३३औँ, ३४औँ, ३८औँ, ४७औँ, ५५औँ, ६२औँ, ६३औँ, ७२औँ, ७९औँ मिनेट तथा दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी हुन् । उनले यसअघिका तीन खेलमा ह्याट्रिक गोल गरेकी थिइन् ।

यस्तै एपीएफका लागि अनु लामाले पाँच, अनिता बस्नेतले तीन तथा सरु लिम्बु र रेनुका नगरकोटीले एक/एक गोल गरे । लिगको शीर्ष स्थानमा रहेको एपिएफको छ खेलमा १८ अङ्क छ । चौदण्डीगढी अङ्कविहीन रहँदै लिगको पुछारमा रहेको छ ।