भारतले नेपाली भूमि अतिक्रमण गरि बनाएको पिलर सशस्त्र प्रहरीले हटायो

भारतले नेपाली भूमि अतिक्रमण गरि बनाएको पिलर सशस्त्र प्रहरीले हटायो

अतिक्रमित जग्गामा निर्माण भएका ३४ वटा घरटहरा भत्काइयो


रौतहट – भारतले नेपालतर्फ च्यापेर निर्माण गरेका पिलर सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेडक्वार्टरको सक्रियतामा नेपाल भारत सिमाना छुट्टयाउने ईशनाथ नगरपालिका–२ औरैयामा रहेका ३४८.१ र ३४८.२ नम्बरका भारतले नेपालतर्फ च्यापेर ठड्याएका पिलर हटाइएको हो ।

साथै सशस्त्र प्रहरीले ५ वटा विद्युतपोल ३५ फिट भारततर्फ सारेको छ ।  त्यसैगरी नेपाली र भारतीय नागरिकले दशगजा अतिक्रमण गरी खेती गर्दै आएको ५० बिगाहाभन्दा बढी जग्गा खाली गराइएको छ भने सदरमुकाम गौर देखी परोहा, ईशनाथ लगायत स्थानीय तहसँग टाँसिएका भारतीय सिमाना छुट्टयाउने दशगजा क्षेत्रमा दुबै देशका बासिन्दाले अनाधिकृत रुपमा निर्माण गरेको झण्डै तीनदर्जन घरटहरा हटाइएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

गत पुस ९ गते भारत सितामढी जिल्ला बैरगनियास्थित अधैसैनिक बल एसएसबीका कमाण्डेन्ट तपनकुमार दासको अध्यक्षतामा बसेको दुईपक्षीय बैठकले दशगजा क्षेत्रको अतिक्रमण हटाउने सहमति भएको थियो । सोही सहमतिअनुसार भारतीय अर्धसैनिक बल एसएसबी र सशस्त्र प्रहरीको संयुक्त टोलीले अनाधिकृत रुपमा निर्माण भएका ३४ वटा घरटहरा हटाइएको सशस्त्रका एसपी रबिनराज कर्णजितले जानकारी दिए ।