काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत दशौँ डफ्फालाई बिदाई गरेका छन् ।
बिहीबार आइजीपी अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत दशौँ डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक बिदाई गरेका हुन् ।
आइजीपी अर्यालले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफ.पी.यू मिशनमा जाने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुहुँदै कार्य सफलताको शुभकामना व्यक्त गरे ।
महानिरीक्षक अर्यालले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठुलो जिम्मेवारी बोकेर द्धन्दग्रस्त मुलुकमा सशस्त्र प्रहरी कर्मचारीहरुले चेन अफ कमाण्ड, अनुशासन र सामुहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त गरे ।
उनले सो टोलीलाई संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा समग्र संगठन र राज्यले आर्जन गरेको छविलाई आच आउन नदिने गरी जनताले अपेक्षा गरे बमोजिम बिभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।
महानिरीक्षक अर्यालले एफ.पी.यू मिशन छनौट निर्देशिका बनिसकेकोले अब १५ बर्ष सेवा अवधि पुगिसकेकाहरुले मात्र सहभागि हुन पाउने र सशस्त्र प्रहरी कर्मचरीहरुको त्याग, उर्जा समर्पण र जेष्ठताको समेत मुल्याङ्कन हुने बताए।
मिसनमा खटिई जान लागेको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुले शुभकामना सहित हार्दिक बिदाई गरे ।
सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको हो । त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हाल्नु भएको थियो । सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् ।
पछिल्लो पटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ । सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक उद्धव बहादुर न्यौपानेको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३४ जना जुनियर अधिकृत र १३० विल्लादार जवानहरु गरी जम्मा १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख १६ गते साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया